• १९ जेठ २०८२, सोमबार

बाँकेमा पशुचौपायालाई निःशुल्क खोप लगाउन सुरु

blog

जानकी गाउँपालिकाका पशुलाई महामारी विरुद्धको खोप लगाउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ १७ गते । गर्मी बढेको समयमा पशुचौपायामा विभिन्न महामारी देखिने भएकोले पशुचौपायालाई महामारीबाट जोगाउन बाँकेमा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।

६ महिना माथिका पशुचौपायालाई महामारीको जोखिमबाट जोगाउन जिल्लाका विभिन्न पालिकामा महामारी विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको पालिकाहरूले जनाएका छन् । 

सो क्रममा जिल्लाको जानकी गाउँपालिकामा पशु सेवा शाखाले १ देखि ६ नम्बर वडाहरू सबैमा २–२ जना गरी जम्मा १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेर ६ महिनामाथिका पशुचौपायालाई निःशुल्क खोप लगाउने कार्य गरिरहेको पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख दिलबहादुर खड्काले बताउनुभयो । उहाँले पशुचौपायामा रोग नफैलियोस् भनेर पहिले नै महामारी विरुद्धको अभियान सञ्चालन गरेको जनाउँदै पालिकाका ६ वटै वडामा खोप लगाउने कार्य चलिरहेको बताउनुभयो । 

गाई भैँसीमा महामारीकै रूपमा देखिने भ्यागुते र चरचरे रोग नलागोस् भनेर खोप लगाउन सुरु गरिएको जनाउँदै जानकी गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले गाउँपालिकामा रहेका १७ हजार गाई भैँसीहरूलाई निःशुल्क खोप लगाउने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले गाई भैँसीमा लाग्ने महामारी रोग विरुद्ध खोप अभियान सञ्चालन गरेपछि किसानहरू खुसी भएका छन् । जानकी–३ का किसान शिवप्रसाद शर्माले गाउँपालिकाले गाई भैँसीहरूका लागि घरघरमै पुगी निःशुल्क खोप अभियान सञ्चालन गरेको हुँदा खुसी लागेको बताउनुभयो । 

उहाँले यसबाट आफ्ना पशुचौपाया रोगबाट सुरक्षित हुने भएकोले सबै किसानले उत्साहित भएर खोप लगाइरहेको बताउनुभयो । 

जानकी–५ का अर्का किसान नरेश यादवले पशुचौपायालाई महामारीबाट जोगाउन समयमै निःशुल्क खोप लगाएर पालिकाले सराहनीय काम गरेको बताउनुभयो । सो खोप अभियान एक हप्तासम्म सञ्चालन हुने जनाउँदै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले पालिका भित्रका सबै किसानलाई आफ्ना ६ महिना माथिका पशुचौपायालाई खोप लगाउन आग्रह गर्नु भएको छ ।