सिराज खान
नेपालगन्ज, जेठ १७ गते । गत पाँच बर्ष अघिदेखि उठाउँदै आएका मागहरूलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् ।
आर्थिक वर्ष २०८२–८३ को बजेट सकारात्मक रहेको निष्कर्ष निकाल्दै होटल एशोसिएसन नेपाल (हान) बाँकेले सरकारलाई धन्यवाद ज्ञापन गरेको हान बाँकेका अध्यक्ष दिवाकर शर्माले बताउनुभयो ।
उहाँले २०७८ सालदेखि होटल व्यवसायीले निरन्तर उठाइरहेका मागलाई यस पटकको बजेटले सम्बोधन गरेको हुँदा होटल व्यवसायीहरू उत्साहित भएको बताउनुभयो ।
नेपाल सरकारका अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गर्नुभएको बजेटमा होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत् महसुल छुट दिने घोषणा गरिएको छ ।
हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले भन्नुभयो, ‘यस घोषणाले होटल व्यवसायीहरू उत्साहित भएका छन् । यसलाई उनीहरूले वर्षौंदेखि माग गर्दैआएको सुविधाका रूपमा लिएका छन् । यो सुविधा पर्यटन क्षेत्रको पुनरुत्थान र विकासका लागि महत्त्वपूर्ण मानिएको छ ।’
सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष न्यौपानेले सरकारको यो पछिल्लो व्यवस्थाले होटल तथा रिसोर्टहरूले अब उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत् महसुलमा छुट पाउने बताउनुभयो ।
उहाँकाअनुसार विद्युत् नियमन आयोगले २०७३ भदौमा तारे होटललाई गैर ग्राहस्थ श्रेणीमा राखी महसुल निर्धारण गरेपछि व्यवसायीहरू निराश भएका थिए ।
‘त्यसपछिका सबैजसो मन्त्री, प्रधानमन्त्रीदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक समेतसँग गुहार लगाउँदै आयौं, तर सुनुवाई भएको थिएन’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले थप्नुभयो–‘अन्य उद्योगलाई निर्धारण गरेसरह नै होटल व्यवसायलाई पनि विद्युत् महसुल निर्धारण गर्ने गरियोस् भन्ने हाम्रो मागलाई वर्तमान अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेकोमा देशभरका व्यवसायीहरू लाभान्वित हुने छन् ।’
सोही प्रकारले होटल व्यवसायी महासङ्घका केन्द्रिय सदस्य भिम कँडेलले धेरै वर्षको सङ्घर्षपछि बजेटमा होटल व्यवसायीको अधिकांश माग सम्बोधन भएको जनाउँदै यसको कार्यान्वयनमा जोड दिनुभयो ।
उहाँले यस पटकको बजेटमा भारतीय पर्यटकलाई चार लाख रुपियाँ लिएर आउन पाउने, व्यवधान बिना पर्यटकले घुम्न पाउने र स्टार्टअप कर्जामा समेत सुविधा पाउने र उत्पादनमूलक उद्योग सरह मान्यता दिएर आयकर र विद्युत् महसुलमा छुट दिने व्यवस्था अति नै सकारात्मक रहेको बताउनुभयो ।