सन्तोष दहित
दाङ, जेठ १७ गते । स्थानीय सरकार बनेपछि ग्रामीण क्षेत्रका सडक तथा पूर्वाधारको विकासमा फड्को मारेको छ । २०७४ को स्थानीय तहबाट नयाँ जनप्रतिनिधि चुनिएर आएपछि ग्रामीण क्षेत्रको सडक, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन तथा ग्रामिण सडकको कालोपत्रेलगायत निर्माणको कामलाई तिब्रता दिएका छन् ।
यसैबिच घोराही उपमहानगरपालिकाले आठ वर्षको अवधिमा घोराही उपमहानगरपालिकाले उपमहानगर भित्रका विभिन्न सडकमा एकसय ८८ किलोमिटर कालेपत्र गरिएको जनाएको छ । स्थानीय सरकार बनेपछि २०७४ यता उपमहानगरपालिका भित्रका विभिन्न वडाका सडकमा अहिलेसम्म एक सय ८८ किलोमिटर सडक कालेपत्रे गरिएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँ पहिलो आफ्नै कार्यकालमा उपमहानगरपालिकासँग जोडिएका १९ नम्बर बाहेकका वडा नम्बर १ देखि १८ वडाहरूको भित्री ग्रामिण सडकदेखि वडा कार्यालयसम्म जोडिने सडक र तथा सहरभित्रका सडकसहित १४१ किलोमिटर सडक कालेपत्रे गरिएको बताउनुभयो ।
यस्तै, दोस्रो कार्यकालमा पुनः निर्वाचित भएर आएपछि अहिले थप ४७ किलोमिटर सडक कालेपत्रे गरिएको र यो काम भइरहेको नगर प्रमुख चौधरीले बताउनुभयो । यस्तै उहाँले एक सय ६६ किलोमिटर नयाँ सडक निर्माण गरिएको जानकारी दिनुभयो । घोराही–धर्ना डाँगी गाउँ हुँदै रिहार जोड्ने नयाँ सडक निर्माण र घोराही चाक्लिघाट हुँदै वेलदमार जोड्ने वैकल्पिक नयाँ माग निर्माण गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो । यसैगरी दुई सय ४३ किलो मिटर ग्रामिण सडकमा ग्राभेल तथा सडक स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी अहिलेसम्म एक सय ७५ किलोमिटर पक्की नाला निर्माण गरिएको नगर प्रमुख चौधरीले जानकारी गराउनुभयो । यस्तै विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, योगा हल, कभर्ड हल, ज्येष्ठ नागरिक दिवा सेवा लगायतको एक सय चार वटा भवन निर्माण गरिएको छ । त्यस्तै विद्यालयमा ३६ शौचालय निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।