• १८ जेठ २०८२, आइतबार

गौमुखी भ्रमण वर्ष सुरु

blog

गाउँपालिकामा आयोजित गौमुखी पर्यटन वर्षको शुभारम्भ कार्यक्रम । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, जेठ १७ गते । गौमुखी गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्येश्यले गौमुखी भ्रमण वर्षको शुभारम्भ गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार उक्त भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।

गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको र सोही अनुसार कार्यक्रम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उदेश्य लिएर भ्रमण वर्ष मनाउन लागिएको अध्यक्ष गिरीको भनाइ छ ।

पालिकाभित्र रहेका झरना, तालतलैया, जङ्गल, धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकलाई भित्र्याउने उद्येश्यले भ्रमण वर्ष मनाउन लागिएको गाउँपालिकाले जनाएको छ । गौमुखी गाउँपालिकाभित्र गौमुखी, बाइसमुल झरना, झाक्री ढुङ्गा, तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका घुम्ने स्थान रहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले स्थानीय पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी, झ्याउरे, पञ्जेबाजा लगायत कला संस्कृतिको प्रवर्धन समेत हुने अपेक्षा गरिएकोे बताउनुभयो । पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ । 

आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २-४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ । यसअघि आर्थिक वर्ष २०७६-०७७ लाई गौमुखी पर्यटन वर्षको रूपमा मनाउने नीति अख्तियार गरेको थियो । गौमुखीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मिडिया सम्मेलन समेत गरिएको थियो ।