सचिन पोख्रेल
विराटनगर, जेठ १७ गते । मोरङ जिल्लाका सीमावर्ती भारतीय नाकाहरूबाट हुँदै आएको चोरी पैठारी र तस्करी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र त्यसअन्तर्गतका युनिटहरूले सिमावर्ती क्षेत्रमा निगरानी कडाइ गर्दै भन्सार छलेर ल्याइएका करिब पाँच करोड रुपियाँ बराबरका विभिन्न सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनाको अवधिमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएका चार करोड ९८ लाख ५५ हजार ८७७ रुपियाँ बराबरका सामग्री बरामद गरी रानी भन्सार कार्यालयमा दाखिला गरिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बरामद गरिएको एक करोड ४४ लाख २८ हजार ४४४ रुपियाँ बराबरको सामग्रीभन्दा तीन गुणाभन्दा बढी हो ।
बरामद गरिएका सामग्रीहरूमा कपडाजन्य वस्तुहरू, पेय पदार्थ, दैनिक उपभोग्य सामग्री, हार्डवेयर, मोटर र मेसिनरी सामग्री जस्ता विविध वस्तुहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार ती सामग्री अवैध रूपमा नेपाल भित्र्याउँदै गर्दा बरामद गरिएको हो ।
त्यस क्रममा अवैध चोरी पैठारी र तस्करीमा संलग्न आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै, चोरी पैठारी तथा तस्करीमा प्रयोग गरिएका ४३ वटा दुई पाङ्ग्रे, पाँच वटा तीन पाङ्ग्रे र पाँच वटा चार पाङ्ग्रे सवारी साधन समेत बरामद गरी भन्सारमा दाखिला गरिएको छ ।
यसैबिच, अवैध व्यवसायमा संलग्न रहेर राजस्व छल्ने प्रयासमा प्रयोग भएको ४४ लाख ६३ हजार ९०२ रुपियाँ बराबरको खाद्य पूरक सामग्री समेत बरामद गरिएको छ । ती सामग्रीहरू राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मोरङ जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रहरूबाट भइरहेको अबैध उत्खनन नियन्त्रण गर्न प्रहरीले थप कडाई गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ३० जना व्यक्तिमाथि कारबाही गरिएको छ भने उत्खननमा प्रयोग गरिएका ६७ वटा सवारी साधन नियन्त्रणमा लिइएका छन् । उक्त कार्यबाट ११ लाख १५ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सिमावर्ती क्षेत्रमा बढ्दो अवैध कारोबार नियन्त्रणलाई प्राथमिकता दिँदै निगरानीलाई थप प्रभावकारी बनाइएको बताउनुभयो ।