यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) जेठ १७ गते । बुधबार बिहान ७ वर्षीया बालिका सायरा थारूलाई आक्रमण गरी मार्ने चितुवा फेला नपरे पछि शनिबार स्थानीय परम्परा अनुसार वनदेवीको पूजा गरेर चितुवाको खोजी कार्य सुरु गरिने भएको छ ।
चार दिनदेखि लगातार खोजी गरिरहे पनि चितुवा फेला नपरेपछि आज स्थानीय परम्परा अनुसार वनदेवीको पूजा गर्न लागिएको गुलरिया नगरपालिका वडा ५ का वडा सदस्य सोविन्द्र थारूले बताउनुभयो ।
परिवारले बालिकालाई आक्रमण गर्ने चितुवा फेला नपर्दासम्म लास नबुझ्ने अडान लिएपछि लास अस्पतालमै राखिएको छ । चितुवाको खोजी जारी राख्ने र परिवारले लास बुझ्ने सहमति भएपछि आज नै बालिकाको शव परम्परा अनुसार अन्त्येष्टी गरिने पीडित परिवारले बताएका छन् । उनको शव बर्दिया अस्पतालमा राखिएको छ ।
गुलरियाको वडा नं ५ मा पटक पटक चितुवाले आक्रमण गरेर मानिसलाई घाइते बनाउने र मार्ने गरे पनि सम्बन्धित निकायले चितुवा नियन्त्रण नगरेपछि बालापुरका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय घेरेका थिए । करिब दुई घण्टा जिल्ला प्रशासन अगाडि धर्ना दिँदै सडक अवरुद्ध पारेका थिए । चितुवा तत्काल नियन्त्रण लिने सहमति भए पनि पीडित पक्षले चितुवा नियन्त्रणमा नलिँदासम्म बालिकाको शव नबुझ्ने अडान लिएका थिए । चितुवाको खोजी कार्य जारी राख्ने र पीडित परिवारले शव बुझ्ने सहमति भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
चितुवा फेला नपर्दा स्थानीवासीहरू त्रसित भएका छन् । बुधबारदेखि नै चितुवाको खोजी गरी नियन्त्रण लिने प्रयास जारी राखिएको छ । बिहीबारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई वटा हात्ती परिचालन गरिएको छ । दुई जना पशु चिकित्सकसहित प्राविधिक टोली परिचालन गरेर चितुवाको खोजी गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष ठाकुरद्वारा कार्यालयका प्रमुख अजितराज तुम्बाहाम्फेले बताउनुभयो । उहाँका अनुसार चितुवा फसाउनका लागि बुधबारदेखि नै दुई बाख्रा राखेर पासो राखिएको छ, तर चितुवा फसेको छैन ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियासहित ४५ जना जनशक्ति परिचालन गरेर चितुवा खोजी गरिरहेको बताउनुभयो । उहाँले परिवारले शवको अन्त्येष्टी नगर्दा राहतको प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो । सरकारले वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएमा काजकिरिया खर्च स्वरूप एक लाख रुपियाँ दिने प्रावधान रहेको छ ।
पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत वैशाख १५ गते गुलरिया नगरपालिका वडा ५ मा रहेको सूर्य सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा नौ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । वन कार्यालय बर्दियाको गत मङ्सिर यता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।