चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १७ गते । ताप्लेजुङमा शनिबार बिहान सम्पन्न सिदिङ्वा म्याराथनमा पुरुषतर्फ विविसन लिङ्देन र महिलातर्फ जुही राई प्रथम हुनुभएको छ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा लिङ्देन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुनुभएको हो ।
पुरुषतर्फका प्रथम लिङ्देन ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङका हुनुहुन्छ । महिलातर्फ प्रथम रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी हुनुहुन्छ । यस्तै, म्याराथनमा पुरुषतर्फ फिदिम नगरपालिका–४ पाँचथरका विशाल राई दोस्रो र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ फाकुम्बाका प्रकाश लिम्बू तेस्रो हुनुभएको छ ।
महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२ पाँचथरकी पुष्पा सेर्मा लिम्बू दोस्रो र रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी विनिता राई तेस्रो हुनुभएको छ । म्याराथनका विजेताले पुरुष र महिला दुवैतर्फ समान पुरस्कार राशि प्राप्त गर्नुभएको छ । जसअनुसार प्रथम ४० हजार रुपियाँ, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपियाँ दरले नगद पुरस्कारसहित प्रमाणपत्र पाउनुभएको छ ।
स्थानीय ओमेन्सा राईका अनुसार म्याराथनमा कुल ६१ जनाको सहभागिता रहेको थियो । म्याराथनमा सहभागी कुल सङ्ख्यामध्ये सात जना महिला र ५५ जना पुरुष रहनुभएको थियो । म्याराथनमा स्थानीयतर्फ सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका भरत बानियाँ प्रथम हुनुभएको राईले जानकारी दिनुभयो । बानियाँले २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गरेको हो । सिदिङ्वाधामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गालगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्नसमेत महोत्सव आयोजना गरिएको हो । शुक्रबार सुरु भएको तीन दिने महोत्सवको शनिबार औपचारिक रूपमा समापन हुँदै छ ।