ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १५ गते । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सव सुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा आज जेठ १७ देखि २१ गते सम्म विविध कार्यक्रमको आयोजना गरेर हीरक जयन्ती मनाउन लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ,टान,एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा हीरक महोत्सव मनाउन सुरु गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका र वडा नम्बर ४ नारच्याङवासीहरु हीरक महोत्सवको सम्पूर्ण तयारी पूरा गरेर पाहुनाको स्वागतका लागि जुटेका छन् । आज शनिवार दिउसो प्रथम हिमाल आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोग र फ्रान्सेली कलाकारहरू सहित विदेशी पाहुनाहरूलाई मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रूपमा रहेको नारच्याङ गाउँमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको हीरक महोत्सव आयोजक समितिका सदस्य तथा मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।
हीरक महोत्सवमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुनाहरू आज पोखराबाट म्याग्दीका लागि हिँडिसकेको उहाँले बताउनुभयो । हीरक महोत्सवलाई सफल पार्न स्थानीयहरू गाउँमा सरसफाइ र स्वागत गेट निर्माण लगायतका कामहरूमा जुटेका छन् ।
‘‘अन्नपूर्ण हीरक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । म्याग्दीको भूगोलमा पहिलो पटक अन्नपूर्ण दिवस मनाउन लागेका छौँ । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीमा भए पनि अघिल्ला वर्षहरूमा कास्कीमा मनाउने गरिएको थियो । यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हीरक महोत्सव मनाउन पाउँदा हामी अन्नपूर्णवासीहरू खुसी भएको छौँ । महोत्सवले अन्नपूर्णको विश्वव्यापी रूपमा प्रचारप्रसारमा सहयोग पु¥याउने विश्वास गरेका छौँ,’’ गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो ।
आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ अर्थात् जेठ २० गनेका दिन फ्रान्सका पर्वतारोही मौरिस हर्जोग,लुई लचेनल र नेपाली शेर्पा सहितको टोलीले अन्नपूर्णको आरोहण गरेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
जेठ २० गते प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।
महोत्सवका अवसरमा ३० किलोमिटर लामो दूरीको म्याराथन दौड प्रतियोगिता हुने भएको छ । साथै महोत्सवका अवसरमा पुख्र्यौली नृत्य प्रतियोगिता,खुला नृत्य प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।
फ्रान्सेली कलाकारहरुले प्रथम हिमाल आरोही मौरिस हर्जोगको सम्झनामा शनिवार साँझ नाच्याङमा र जेठ २० गते आधार शिविरमा सांगीतिक प्रस्तुती गर्ने भएका छन् ।
पर्वतारोही हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरकारी स्तरबाट गरिएको पहिलो कार्यक्रमले सम्पूर्ण म्याग्दीवासीहरुलाई नै उत्साहित बनाएको अन्नपूर्ण पर्यटन विकास समितिका सदस्य चित्र तिलिजाले बताउनुभयो । स्वदेशी तथा विदेशी पाहुना सहित भोली आइतबार नारच्याङ गाउँबाट चार हजार एकसय मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर सम्म पदयात्रा सुरु गरिने उहाँले बताउनुभयो ।
हीरक महोत्सवमा प्रधानमन्त्री ओली आउनुहुने भएपछि स्थानीय पर्यटन व्यवस्थापन समिति,स्थानीय पर्यटनकर्मी लगायत अन्नपूर्णवासीहरू तयारीमा जुटेको मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी हुमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा हर्जोगले प्रयोग गरेको बाटोलाई गाउँपालिकाले उहाँको सम्मानमा मौरिस हर्जोग पदमार्ग नामकरण गरी पूर्वाधार निर्माण गरेको छ ।
आधार शिविर जाने पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सख्ंयामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।