चौमाला समाचारदाता
चौमाला, जेठ १७ गते । सङ्घीय सरकारले बिहीबार प्रस्तुत गरेको बजेटले सुदूरपश्चिम प्रदेशका जनता उत्साहित भएका छन् । सामान्यता बजेटमा मुलुकका जल्दाबल्दा समस्या सम्बोधन गर्दै आगामी दिनमा देशलाई उन्नति र प्रगतिको बाटोतर्फ डोर्याउने प्रयास गरिन्छ । बजेट भन्नेबित्तिकै सर्वसाधारण नागरिकमा समेत छुट्टै प्रकारको उत्साह र अपेक्षा देखिन्छ । शिक्षाविद् शिवहरि मुडभरीले बजेट समग्रमा हेर्दा राम्रो आएको बताउनुभयो । आएको बजेट सही ठाउँमा खर्च गर्न सक्यो भने मात्र सफल हुने बताउँदै उहाँले बजेट जनमुखी छ तर कार्यान्वयन हुन्न कि भन्ने डर पनि रहेको बताउनुभयो ।
“सूक्ष्म तरिकाले हेर्ने हो भने धेरै कुरालाई सोचेर बजेट आएको छ,” उहाँले भन्नुभयो, “समग्रमा बजेट हेर्दा सैद्धान्तिक रूपमा भन्दा सुरुका बुँदाहरू हेर्दा परम्परागत रूपमा आएको देखियो, पछिका बुँदा हेर्दा केही सुधार भएको देख्न सकिन्छ ।” स्रोतको सीमितताले गर्दा धेरै गर्ने अवस्था पनि नरहेका कारणले पनि अर्थमन्त्री विष्णु पौडेलको प्रयास राम्रो छ, बजेट नराम्रो भन्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यस बजेटबाट सुदूरपश्चिमवासीले निराश हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति गर्न र तुसारपानी–टिङ्कर सडकखण्डको ट्र्याक खोल्न आवश्यक बजेटसहित रणनीतिक तथा व्यापारिक महìवका खुटिया–दिपायललगायतका सडकको स्तरोन्नति गर्ने कुरा राम्रो भएको उहाँले बताउनुभयो ।
कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले अहिलेको परिस्थिति हेर्दा बजेटको आकार ठुलो छ, व्यवसायीलाई छुने खालको बजेट आएको बताउनुभयो । कार्यान्वयनमा कति सहज असहज हुन्छ त्यो पछिको कुरा हो तर अहिलेको अवस्थामा सकारात्मक खालको बजेट आएको छ, उहाँले भन्नुभयो, “अहिलेको यो बजेट युवालाई लक्षित गरेर ल्याएको जस्तो लाग्छ ।”
देशमा अहिले बेरोजगारी समस्या विकराल बन्दै गएको छ । हरेक वर्ष करिब पाँच लाखभन्दा बढी युवा कामको खोजीमा श्रम बजारमा प्रवेश गर्छन् । मुलुकभित्र रोजगारीका अवसर नहुँदा लाखौँ युवा बिदेसिने गरेका छन् भने स्वदेशभित्रै रहने युवा निष्क्रिय रूपमा बसेका छन् । विशेष गरेर पलायन भइराखेका छन् । युवालाई स्वदेशमै रोक्ने खालको बजेटमा समावेश गरेको देख्न सकियो जुन बजेट हेर्दा स्वागतयोग्य रहेको उहाँको भनाइ छ ।
बजेट तर्जुमा गर्दा प्राविधिक पक्ष मात्र ध्यान नदिई व्यावहारिक पक्षका कार्यक्रम पनि समावेश गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महìवपूर्ण योजना समेटिएका छन् । बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ ।
पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने कुरा सकारात्मक भएको उहाँले बताउनुभयो ।