बुटवल समाचारदाता
बुटवल, जेठ १७ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको हो । अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत गर्नुभएको नयाँ आर्थिक वर्ष २०८२/८३ को बजेटमा यही क्षेत्रमा एक दर्जनभन्दा नयाँ तथा पुराना योजना परेका छन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकाको केही वडा र सैनामैना नगरपालिका रहेको निर्वाचन क्षेत्र नं. २ मा अधिकांश पुराना योजनाले यस पटक पनि निरन्तरता पाएका छन् भने केही नयाँ योजना परेका छन् । लामो समयदेखि विवादका कारण निर्माणको काम अघि बढ्न नसकेको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रलाई निजी क्षेत्रको सहकार्यमा निर्माण गर्ने गरी बजेट परेको छ । मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अहिले जग्गा विवादका कारण रोकिएको छ ।
लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको सम्भाव्यता अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गर्ने बजेटमा सम्बोधन भएको छ । चिन सरकारको पूर्ण प्राविधिक सहयोग र नेपाल सरकारको व्यवस्थापनमा विसं २०३९ मा स्थापना भएको धागो कारखाना २०६० सालदेखि पूर्णतः बन्द रहेको छ । लामो समय बन्द रहेको बुटवल धागो कारखाना सञ्चालनका विषयमा सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन भएको छ । यसले यहाँका उद्योगी व्यवसायी खुसी भएका छन् ।
तिलोत्तमामा निर्माण हुने भनिएको एक हजार शय्याको बुटवल मेडिकल कलेज निर्माणका लागि बजेट परेको छ । त्यसै गरी अर्थमन्त्रीकै क्षेत्र बुटवल–१५, सेमलारमा कृषि उपजको सङ्कलन, प्रशोधन, बजारीकरण र निर्यात प्रवर्धनका लागि आधुनिक हाटबजार निर्माणका लागि बजेट परेको छ । दुई वर्षभित्र पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे खण्डको सडकलाई चार लेनमा स्तरोन्नति गर्न २१ अर्ब १९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
बुटवल–गोरखपुर, दोधारा–बरेली चार सय केभी राष्ट्रिय तथा अन्तर्देशीय प्रसारण लाइनको निर्माणको काम अघि बढाइने बजेटमा उल्लेख छ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले केही पुराना र केही नयाँ योजनासहितको बजेटले खुसी बनाएको बताउनुभयो । उहाँले अर्थमन्त्रीको क्षेत्रमा परेको बजेटको समयमै कार्यान्वयन भयो भने यसले बुटवल र यस वरपरको क्षेत्रको विकासमा ठुलो परिवर्तन आउने उल्लेख गर्नुभयो । बुटवल औद्योगिक क्षेत्रमा लामो समयदेखि कायम रहेको जग्गा भाडा विवादसमेत यो बजेटले अन्त्य गरेको छ ।