• १८ जेठ २०८२, आइतबार

‘नेपाली प्रेस स्वतन्त्रताको अभ्यास दक्षिण एसियामै अनुकरणीय’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले नेपाली पत्रकारिताको इतिहास सङ्घर्षपूर्ण भए पनि वर्तमानमा पूर्वस्वतन्त्रता स्थापित भएको प्रस्ट पार्नुभएको छ । ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ लोकार्पण तथा ‘पत्रकारिता : विगतका पाठ र आजको प्रश्न’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली प्रेस स्वतन्त्रताको अभ्यास दक्षिण एसियामै अनुकरणीय रहेको बताउनुभएको हो । 

प्रेस काउन्सिल नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री पन्तले नेपालको संविधानले नै प्रेस स्वतन्त्रताका पक्षमा बोलेको प्रस्ट पार्दै अविच्छिन्न स्वतन्त्रताले मात्रै सञ्चार जगत् सुरक्षित र जवाफदेही हुने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपाललाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्रेस काउन्सिलले न्याय प्रणालीसँग जोडिएको काम गर्ने भएकाले नेपाली पत्रकारिताका शक्तिशाली सम्पादकसँग पनि प्रभावकारी ढङ्गले कुरा गर्न सक्ने हुनु पर्छ र अहिलेका विषयलाई दिशानिर्देश गर्न सक्ने बनाउनु पर्छ ।”

उहाँले विश्वसनीय सामग्री प्रकाशन अनिवार्य सर्त रहेको बताउँदै बजारमा नआउने पत्रिका पनि वर्गीकरणमा पर्ने गरेको विगतप्रति सचेत भएर काम गर्न सुझाव दिनुभयो । उहाँले सञ्चार माध्यममा बालविवाह, महिला हिंसासहित समग्र सामाजिक विषयवस्तु केन्द्रित हुनुपर्ने भनाइ राख्नुभयो । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले विगतमा लेखेर समाचार प्रस्तुत गर्ने भए पनि अहिलेको डिजिटल युगमा सबै प्रविधिसँग अभ्यस्त हुँदै गएको बताउनुभयो । उहाँले नेपाली पत्रकारिताकै माध्यमबाट नागरिकमा बढेको चेतनाले आवधिक निर्वाचनमा पुराना दल खबरदारीमा परेको बताउनुभयो । साथै उहाँले सञ्चार जगत्को स्वतन्त्रता अहिले महत्वपूर्ण बहसको विषय बन्ने बताउनुभयो । उहाँले नयाँ सञ्चार माध्यम र सामाजिक सञ्जाललाई सामाजिक रूपान्तरण र सूचनाको स्रोतका रूपमा अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको गतिशील विकास अहिले कृत्रिम बौद्धिकता (एआई) सम्म पुगेकाले यसको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रको कामलाई जिम्मेवार बनाउन र पत्रकारको क्षमता अभिवृद्धिमा सहजीकरण गर्ने प्रस्ट पार्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तक विगत, वर्तमानदेखि भविष्यसम्मको आधारशीला हुने गरी सञ्चार दस्ताबेजका रूपमा आएको बताउनुभयो । 

सात विज्ञको अनुसन्धान 

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालका अनुसार गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने पुस्तक एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारिएको हो । विज्ञहरू तीर्थ कोइराला, कुन्दन अर्याल, रघु मैनाली, जगत नेपाल, शुभेच्छा विन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी र रुद्र खड्काले अनुसन्धानमूलक लेखन गर्नुभएको छ । 

पुस्तकमा मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्ताबेज तयार भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालासहित विभिन्न सञ्चार माध्यमका सम्पादकले सञ्चार क्षेत्रका चुनौती र अवसरकासन्दर्भमा विमर्श गर्नुभयो ।