नवीनराज कुइँकेल
लमजुङ, जेठ १६ गते । लमजुङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ ।
ग १ ख ४१०१ नम्बरको यात्रुवाहक बस शुक्रबार दिउँसो कास्कीको रुपा गाउँपालिका –१ पार्चेमा दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार, बसको ब्रेकमा समस्या आएपछि अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनापछि लमजुङको भोर्लेटारस्थित ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । घाइते यात्रुहरुलाई उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरी निरीक्षक याम अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त बस चालक लमजुङ, मध्येनेपाल ७, रामबजारका ३४ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामा पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्येनेपाल ७, रामबजारको राधिका घिमिरे (६२ वर्ष), मेनुकादेवी घिमिरे (८२ वर्ष), शोमा थापा (५९ वर्ष), लक्ष्मीकुमारी गुरुङ (५४), सरस्वती केसी (४५ वर्ष), जमुनादेवी घिमिरे (८३ वर्ष), सरिता घिमिरे (४२ वर्ष) घाइते हुनुभएको छ ।
यसैगरी सोही स्थानकी सावित्रा घिमिरे (५६ वर्ष), रिता घिमिरे (४२ वर्ष), पार्वती घिमिरे (४१ वर्ष), सिजा थापा (४८ वर्ष), चन्द्रबहादुर केसी (७५ वर्ष), नेत्रबहादुर केसी (७१ वर्ष), लिला केसी (३० वर्ष), शान्ति केसी (३७ वर्ष), हरीकृष्ण घिमिरे (६३ वर्ष), कमलादेवी घिमिरे (४८ वर्ष) र मैया कुँवर (५५ वर्ष) घाइते हुनुभएको छ ।