• १८ जेठ २०८२, आइतबार

छुर्पीको प्रवर्द्धन गर्न अतिथिलाई छुर्पीको माला

blog

छुर्पीको माला लगाइएको सिदिङ्वाधाम पर्यटन महोत्सव उद्घाटन समारोहका अतिथि ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १६ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवमा अतिथिलाई छुर्पीको माला लगाइएको छ। आयोजकले स्थानीय उत्पादित छुर्पीको पवद्र्धन गर्न अतिथिलाई छुर्पीको माला लगाई दिएको हो। 

बिहीबार उद्घाटन भएको तीन दिने महोत्सवमा पुग्नुभएका अतिथिलाई स्थानीय उत्पादनका ढाका र अल्लो कपडाको खादासँगै छुर्पीको माला लगाइएको हो। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित अतिथिलाई ढाका र अल्लोको खादा तथा छुर्पीको माला लगाई दिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले जानकारी दिनुभयो।

पर्यटन प्रवर्द्धन गर्न आयोजित महोत्सवमा ढाका र अल्लो कपडाको खादा र चौंरीको छुर्पीको माला प्रयोग गरिएकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखिएको उपाध्यक्ष कडरियाको भनाइ छ। यस्तै महोत्सवमा उद्घाटनमा प्रमुख अतिथिका रुपमा पुग्नुभएका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो सहितका अतिथिले स्थानीय उत्पादनको प्रयोग र प्रचारको शैलीले प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्नुभएको छ। सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनले नै समाज र मुलुकको समृद्धिमा सहयोग पुग्ने अतिथिहरुले जोड दिनुभयो।

सिदिङ्वा गाउँपालिकाका सातमध्ये वडा नम्बर ४ साब्लाखु र ५ लिम्बुदिन बाहेकका वडामा तुलनात्मक रुपमा बढी पशुपालन गर्ने गरिन्छ र यहाँ छुर्पी उत्पादन हुने गर्दछ। वडा नम्बर १  कालिखोला र २ सादेवाको माथिल्लो भेग तिम्बुङपोखरी क्षेत्र, वडा नम्बर ७ सुरुम्खिमको माथिल्लो भेगमा याक तथा चौंरी पालनसँगै गोठ रहेका छन्। सोही क्षेत्रमा उत्पादन हुने याक, चौंरी र गाईको दूधबाट उत्पादन हुने छुर्पीको प्रवर्द्धन गर्न अतिथिलाई छुर्पीको माला लगाइएको हो।

धार्मिक पर्यटकीय गन्तव्य सिदिङ्वाधामसहित यस क्षेत्रमा रहेका तिम्बुङ पोखरी, ढङ्ढङगे झरना, चमेरे गुफा, हात्ती ढुङ्गाजस्ता पर्यटकीय गन्तव्यको थप प्रचारप्रसार र प्रवर्द्धन गर्न सिदिङ्वाधाम पर्यटन महोत्सव आयोजना गरिएको हो। महोत्सव मूल आयोजक समितिका संयोजक एवम् सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको बताउनुभयो। 

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको प्रवेश विन्दुका रहेको तिम्बुङ पोखरी, सिदिङ्वाधाम क्षेत्रलाई एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेसमेत उद्देश्य राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ। उहाँका अनुसार पाँचथरको सिमाना र भारतको सिक्किमसँग सिमाना जोडिएको ठाउँ भएकाले सिदिङ्वाधाम राम्रो पर्यटकीय सम्भावना बोकेको स्थल हो। बिहीबार सुरु भएको पर्यटन महोत्सव शनिबार सम्पन्न हुने छ।