• १८ जेठ २०८२, आइतबार

विजयी विद्यार्थी पुरस्कृत

blog

पुरस्कृत विद्यार्थी र अतिथि ।

काठमाडौँ, जेठ १६ गते। काठमाडौँस्थित पाकिस्तानी दूतावासले वार्षिक रूपमा सञ्चालन गर्दै आएको १२ औं पाकिस्तान राजदूत निबन्ध लेखन प्रतियोगिता र ८ औं पाकिस्तान राजदूत वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ। 

यस वर्षको निबन्ध प्रतियोगिताको विषय “कृत्रिम बौद्धिकता र मानवताको भविष्य” रहेकामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेलले प्रथम स्थान, सोही विद्यालयका आयुष शाहले द्वितीय स्थान र सेन्ट जोसेफ अङ्ग्रेजी एकेडेमीका संजोक मगरले तृतीय स्थान हासिल गर्नु भएको थियो। विजेताहरूले क्रमश: स्वर्ण, रजत र कास्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरेको पाकिस्तानी दूतावासले जनाएको छ। 

उच्च माध्यमिक तहका विद्यार्थीका लागि “पुस्तक वा भनाइ : सिकाइको भविष्य” शीर्षकमा आयोगित वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयको पोखरा क्याम्पसस्थित वन विज्ञान संस्थानकी प्राप्ति लम्साल प्रथम, काठमाडौँको शिवपुरी कलेजकी रीत काफ्लेले द्वितीय र सेन्ट जेभियर स्कुल जावलाखेलका रितेश देवले तृतीय स्थान हासिल गरे। 

दुवै प्रतियोगिताका विजेताहरूलाई क्रमशः स्मृति चिन्ह र नगद पुरस्कारसहित पदक प्रदान गरिएको थियो। निबन्ध लेखनका दस र वक्तृत्वकलाका बाह्र विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो। 

त्यस अवसरमा मधेशी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्तले शिक्षा, स्वास्थ्य र सामुदायिक विकास लगायतका क्षेत्रमा पाकिस्तानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो। उहाँले पाकिस्तानको सहयोगले दुई देशका युवालाई साझा मूल्यमान्यता र जिम्मेवार विश्वव्यापी नागरिकको रूपमा सम्झाउन लामो समयसम्म काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले महत्त्वपूर्ण मुद्दामा आलोचनात्मक सोचका लागि विद्यार्थीको प्रशंसा गर्दै उदीयमान चुनौती र अवसरमा आलोचनात्मक सोचलाई प्रवर्धन गर्नाले उनीहरूलाई यस्ता अभ्यासबाट लाभ उठाउन सक्षम बनाउने र त्यसले दुई देशबिचको सम्बन्ध पुलको रूपमा काम गर्न सक्ने बताउनुभयो।