• १८ जेठ २०८२, आइतबार

मोवाइल चोरी गर्ने दुई पक्राउ

blog

मोबाइल चोरेको आरोपमा पक्राउ परेका व्यक्तिहरु । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), जेठ १६ गते । स्याङ्जामा मोवाइल चोरीगरी पोखरा पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –१३ मजुवास्थित चुनीकुमारी मल्लको कोठाबाट मङ्गलबार साँझ विभिन्न कम्पनीका तीन थान मोवाइल चोरी गरी पोखरा पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका –५ चिलाउनेभाटी घर भई कास्की पोखरा महानगरपालिका –५ बस्ने २१ बर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका –४ स्थायी घर भई पोखरा बस्ने २४ बर्षीय शाहिल गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट रेडमी कम्पनीको स्मार्ट मोवाइल एक थान, ओप्पो कम्पनीको स्मार्ट मोवाईल एक थान र भिभो कम्पनीको स्मार्ट मोवाइल एक थान बरामद भएको सूचना अधिकारी चौधरीले बताउनुभयो । 

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत स्याङ्जाबाट ९ दिनको म्याद थप गरी चोरी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।