• २३ असार २०८१, आइतबार

आईएफजेमा नवनिर्वाचित सिग्देललाई बधाई

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को कार्यकारी समिति सदस्यमा हालै निर्वाचित हुनुभएका बद्री सिग्देललाई गोरखापत्र संस्थानले बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ । 

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले कार्यकारी सदस्य सिग्देललाई आइतबार संस्थानमा संयुक्त रुपमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । 

ओमानको राजधानी मस्कटमा नयाँ नेतृत्वका लागि आईएफजेको ३१ औं महासभाबाट दक्षिण एसियाबाट सिग्देल नेपालको प्रतिनिधित्व गर्दै कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचित हुनुभएका सिग्देल नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । 

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको कार्यकारी सदस्यमा एसिया पेसिफिक रिजन अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सिग्देल पहिलो पटक सदस्य निर्वाचित हुनुभएकोमा खुशी व्यक्त गर्नुहुँदै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

महाप्रबन्धक ऐरी तथा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक भट्टराई, प्रशासकीय निमित्त निर्देशक ओम भुसालले खादा लगाएर उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । सो महासभाबाट फ्रान्सकी डोमिनिक प्राडाली केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । कार्यक्रम २ जुन २०२२ मा सम्पन्न भएको थियो । 

नवनिर्वाचित सदस्य सिग्देलले आफू जिम्मेवारीमा रहँदासम्म श्रमजीवी पत्रकारको हकहितका निम्ति काम गर्ने बताउनुभयो । पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको प्रवर्धनका लागि नियमित काम गर्दैआएको भए पनि आईएफजेमा रहेर थप जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।