• १६ भदौ २०८१, आइतबार

चितुवाको आक्रमणबाट तनहुँमा दुई जना घाइते

blog

अमरराज नहर्की

तनहुँ जेठ २९ गते । नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा थप एक जना घाइते हुनुभएको छ । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो । 

आइतबार बिहान वडा १ को बाघदलेमा बस्ने वर्ष ३४ को हिमलाल गरन्जामगर आफ्नै घरको पिँढीमा सुतिरहेको अवस्थामा आक्रमण गरी चिथोरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

घाइते बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारस्थित मोती हेल्थ क्लिनिकमा उपचार गरी आइतबार बिहान १० बजे डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । 

यसअघि चितुवाले बन्दीपुर गाउँपालिका–४ टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई शनिबार साँझ ८ः३० बजे आक्रमणबाट घाइते बनाएको थियो । घाइते बालिकाको पनि मोती हेल्थ क्लिनिक उपचारपछि आइतबार बिहान ९ः २० बजे डिस्चार्ज गरी घर पठाइएको   छ । 


घरमुनि बाँसको झ्याङमा लुकेर बसेको चितुवाले आक्रमण गरिएको प्रनाउ खड्काले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवाबाट प्रभावित बस्ती नजिकै चितुवाको पासो थापिएको छ । डिभिजन वन कार्यालयले आइतबार एक सूचना जारी गरी बालबालिकालाई एक्लैएक्लै नछाड्न, घर वरिपरिको झाडी फाँड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । चितुवाबाट जोगिन साँझ तथा राती घर तथा गोठ उज्यालो राख्न, घरगोठ बलियो पार्न कार्यालयले आग्रह गरेको छ ।

वनका मृग, वन कुखुरा लगायतको वन्यजन्तृुको मानिसले शिकार गर्दा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्नेहुनाले वन्यजन्तु मार्नेलाई पक्राउ गर्न सहयोग गर्न सो कार्यालयले अनुरोध गरेको छ ।