• १५ जेठ २०८२, बिहिबार

राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध

blog

शङ्कर केसी 

सल्यान, जेठ १४ गते । गएरातीको वर्षाका कारण झरेको पहिरोले राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्ड अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान करिब ४ः४० बजे सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।

पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । “सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको निर्माण व्यवसायीको जेसिबी ल्याएर पहिरो हटाउन सुरु गरिएको छ । सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न सुझाइएको छ ।