अचेल सखरको चर्चा हुने गरेको छ । चिनीभन्दा धेरै हदमा सखर राम्रो भनिएपछि सखर खोज्ने मानिस बढेका छन् । चिनीको बदलामा सखरको माग बढ्दो छ । सखर चिया रुचाउने समेत बढेका छन् ।
खिर वा मिष्ठान्नमा समेत सखर त्यत्तिकै प्रयोग हुन थालेको छ । चाकु या गुदपाकमा पनि सखर प्रयोग हुन्छ । सखरलाई काँचो चिनी पनि भनिन्छ । उखुको रसलाई पकाएर खुदो बनाइन्छ र जमाएर सखर बनाउने परम्परा छ तर सखरको गुणस्तर र स्वाद फरक फरक पाइनुको कारण उखु कुन खालको प्रयोग गरिएको र कसरी प्रशोधन गरिएको छ भन्ने कुरामा भर पर्छ ।
घरेलु मदिरा उत्पादन गर्न पनि सखर प्रयोग गरिन्छ तर घरेलु मदिरा बनाउँदा स्तरीय सखर प्रयोग गरिएको पाइन्न । गुणस्तरीय सखर सङ्खुवासभामा पाइने गर्छ । सङ्खुवासभाको उखु कालो रङको हुने हुँदा पनि यहाँको सखर गुणस्तर, स्वाद र बनावट अन्य स्थानको भन्दा भिन्न र राम्रो मानिन्छ । अन्य स्थानको सखर केही लेसाइलो र कालो रङको हुन्छ भने सङ्खुवासभाको सखर खैरो चुरुम चुरुम हुने र स्वाद पनि भिन्न हुने हुँदा धेरैले रुचाउने गर्छन् ।
सङ्खुवासभाको सखर दूधचियामा हाल्दा पनि नफाट्ने र चियाको रङ राम्रो देखिने गर्छ । जबकि अन्य स्थानको सखर प्रयोग गर्दा दूधचिया फाट्ने र रङ पनि कालो हुने सम्भावना रहन्छ । सङ्खुवासभाको सखरको माग अधिक हुँदा चैनपुर बजार र आसपासमा यसको बिक्रीवितरण बढ्दो छ ।
चिनीको तुलनामा सखर स्वस्थकर मानिएको छ । सेतो प्रशोधित गरिएको कुनै पनि वस्तु स्वास्थ्यका हिसाबले उत्तम मानिँदैन । चिनीका कारण धेरै मानिसले चिया पिउन छोडेको अवस्थामा गुणस्तरीय सखरको माग बढेको छ । भारतमा सखरलाई गुड भन्छन् र त्यहाँ गुड धेरै प्रयोग गरिन्छ ।
थाइल्यान्ड, इन्डोनेसियाका मानिसले नरिवलबाट बनेको सखर अधिक रुचाउँछन र त्यसलाई नियमित रूपमा आफ्नो भोजनमा समावेश गरेका हुन्छन् । बजारमा दानावाला खैरो चिनी पनि पाइन्छ । जुन सामान्य सेतो चिनीमा सखरको लेदो अर्थात् खुदो मिसाएर बनाइएको हुन्छ । यसैले सेतो चिनीभन्दा खैरो चिनी बढी रुचाइन्छ ।
सखर कसरी खाने
सामान्यतया सखर चपाएर पनि खाने गरिन्छ । योबाहेक चियामा हालेर प्रयोग गर्न सकियो । कफीमा पनि चिनीको सट्टामा सखर प्रयोग गर्न सकिन्छ । खिर या चाम्रेमा पनि सखर स्वादिष्ट हुन्छ । गर्मीमा चिसो पानीमा सखर, कागती र बिरेनुन हालेर सर्बत बनाई खाँदा शरीरमा शीतलता महसुस हुन्छ ।
सखरको खुदो र तिल मिसाएर बनाइएको तिलौरा पनि धेरैलाई मन पर्छ । खुदो र भुजाको ठूलो लड्डु धेरैको रोजाइमा पर्छ । गुदपाक बनाउन पनि सखर उपयोगी तत्व मानिन्छ । सुत्केरी मसला बनाउँदासमेत थोरै मात्रामा सखर प्रयोग गर्दा त्यो उत्कृष्ट बन्छ । बदाम र सखर मिसाएर सस बनाई रोटी या पाउरोटीमा दलेर खाँदा पनि हुन्छ । सखर र गहुँको पिठोबाट लड्डु बनाउन सकिन्छ ।
–युवामञ्च