राममणि दाहाल
मकवानपुर, जेठ १४ गते । हेटाैँडा उपमहानगरपालिका ७ मिलनचोक हजमोला (चट्कोला) खाँदा जिब्रोमा घाउ भएको र सिसाको टुक्रा फेला परेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय, हेटौँडाले हजमोला खाँदा जिब्रोमा घाउ भएको पीडित पक्षको गुनासोपछि हजमोलाको नमुना सङ्कलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
हेटौँडा ७ की वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेय रिजनलले हेटाैँडा ४ पारिजात पथमा सञ्चालन गरिएको एक पसल (मार्ट) बाट हजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले खाँदा दुवै जनाको जिब्रोमा चोट लागेको र सिसाका कारण घाउ भएको जनाउनुभएको छ ।
उनीहरूले हजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस भएको जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले स्थानीयको गुनासो र उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त मार्टमा अनुगमन गरी नमुना सङ्कलन गरेको बताउनुभयो ।
यस्तै खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पङ्कज दाहालले अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको हजमोलाका ११ बोतल सङ्कलन गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रयोगशालामा अनुसन्धान थालेका छौँ उहाँले भन्नुभयो, अनुसन्धानका प्रतिवेदन नआएसम्म उक्त पसलमा हजमोला बिक्रीमा रोक लगाइएको छ र अन्य केही पसलबाट पनि नमुना सङ्कलन गरिएको छ ।
उहाँले हजमोलाका उत्पादनमा केही असामान्य तत्त्व भेटिएको उजुरीपछि नमुना सङ्कलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको पौडेल र रिजालको भनाई छ ।
दुवै जनाले चट्कोला सेवन गर्दा जिब्रोमा चोट लागेपछि हेटौँडा अस्पताल उपचार गरिएको थियो ।