• २२ असार २०८१, शनिबार

आमा–बुवाकै पथमा

blog

सुकृत नेपाल 

काठमाडौँ, जेठ २९ गते । कुनै समय यस्तो थियो कि नेपाली चलचित्रका कलाकारले आफ्नो बुवाले जे पेसा अँगाले आफूले पनि त्यही पेसा अँगाल्नुपर्छ भन्ने मान्यता राख्थे । त्यही कुराले अहिले पनि निरन्तरता पाइरहेको छ । नायिका केकी अधिकारीदेखि लिएर अनमोल केसी, सलोन बस्नेत, संयम पुरी, गौरव पहाडी, रेमनदास श्रेष्ठ, यमन श्रेष्ठ, सुहाना थापालगायत कलाकार पनि पुरानै पारिवारिक पथमा लागिरहनुभएको छ । 

नायिका केकी अधिकारी बद्री अधिकारीकी छोरी हुनुहुन्छ । जो कला क्षेत्रका एक दिग्गज कलाकार हुनुहुन्छ । दर्जनौँ चलचित्रमा अभिनय गरिसक्नुभएको नायिका अधिकारीलाई यो क्षेत्रमा आउनका लागि आफ्नो बुवाको नाम खासै प्रयोग गर्नु नपरे पनि उहाँ बुवाकै पथ समातेर चलचित्र क्षेत्रमा आउनुभएको हो भन्दा खासै फरक नपर्ला ।

कलाकार अनमोल केसी बुवा भुवन केसीकै नामबाट चर्चामा आउनुभयो । उहाँलाई स्थापित गर्न बुवा केसीले आफ्नै लगानीको चलचित्रमा अभिनय गराउनुका साथै कलाकार केसीले होस्टेल, जेरी, गाजलु, ड्रिम्स कृ, क्याप्टेन, ए मेरो हजुरको सिक्वेललगायत अन्य थुप्रै चलचित्रमा अभिनय गरिसक्नुभएको छ । होस्टलबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका केसीले त्यसपछि धेरैजसो आफ्नै बुवाको चलचित्रमा अभिनय गर्नुभयो । 

अभिनेता भुवन केसीको चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका कलाकार सलोन बस्नेत निर्देशक सोभित बस्नेतको छोरा हुनुहुन्छ । आफ्नोपन, आशीर्वाद, आफन्त, हामी तीन भाइलगायत तीन दर्जनभन्दा बढी चलचित्रमा बालकलाकारका रूपमा अभिनय गरिसक्नुभएका बस्नेत सुनील रावलले निर्माण गरेका चलचित्र ‘होस्टल’मार्फत कलाकारका रूपमा चलचित्र क्षेत्रमा आउनुभएको हो ।  आफ्नो बुवाकै पथ सम्हाल्नुभएका अर्का कलाकार हुनुहुन्छ गौरव पहाडी । पहाडी अभिनेता टीका पहाडीको छोरा हुनुहुन्छ ।


चलचित्र ‘मञ्जरी’बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएको कलाकार पहाडीले होस्टल, गाजलु, आकाशे खेती, छक्कापञ्जा ३, काँडेतारलगायत थुप्रै चलचित्रमा अभिनय गर्नुभएको छ । नायिका सुहाना थापा अभिनेत्री झरना थापाकी छोरी हुनुहुन्छ । सुहानाको बुवा सुनीलकुमार थापा पनि चलचित्र निर्माता हुनुहुन्छ । सुहानाले आफ्नै आमा–बुवाले निर्माण गर्नुभएको चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएको हो ।

अभिनेता मदनदास श्रेष्ठका छोरा रेमनदास श्रेष्ठ, कलाकार हरिवंश आर्चायका छोरा मोहितवंश आर्चाय, मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ गायक सत्य–स्वरुप आचार्यलगायत थुप्रै कलाकार आफ्नो बुवाको पथमा लागेर यो क्षेत्र अपनाउनुभएको छ । कसैले यो क्षेत्र फापेको छ भने कोही यस क्षेत्रबाट पलायन भइसकेका छन् ।