• ११ पुस २०८१, बिहिबार

‘भाषा संस्कृति जोगाउनुपर्छ’

blog

इलाम समाचारदाता

इलाम, जेठ २९ गते ।  प्रदेश–१ का स्वास्थ्य मन्त्री जयराम यादवले नेपालीहरूले आफ्नो भाषा, कला र जातीय संस्कृति जोगाउनु पहिलो आवश्यकता भएको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको राष्ट्रिय गणित सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले अहिले नानीहरूले अङ्ग्रेजी भाषा फर्रर बोले भने अभिभावकहरू खुसी हुने गरेको भन्दै आफ्नो भाषाभन्दा अङ्ग्रेजीलाई प्राथमिकता दिनु गलत भएको बताउनु भयो । 

मन्त्री यादवले नेपाललाई कसरी नेपालकै पहिचानमा विश्वलाई चिनाउने हो भन्ने विषयमा सबै नेपाली सचेत हुनुपर्ने बताउनु भयो । “प्रत्येक नेपालीले आफ्नो भाषा, जातीय पहिचान, कला संस्कृति नै जान्नु पहिलो आवश्यकता हो” । यादवले भन्नुभयो, “यसलाई कसरी देशसँग जोड्न सकिन्छ, त्यतातर्फ ध्यान दिनुपर्छ” । मन्त्री यादवले प्रदेश १ को हिमाल, पहाड र तराईको शिक्षाको गुणस्तरमा कायम गर्न यो गणित सम्मेलनले भूमिका खेल्नुपर्ने बताउनु भयो । गणितलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो । 

मन्त्री यादवले प्रदेश १ को शिक्षा स्वास्थ्य र यातायातको सुविधा हिमाल, पहाडमा पुग्नुपर्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै यस पटकको बजेटमा हरेक जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयलाई सुविधा सम्पन्न गराएर सबै नागरिकलाई स्वास्थ्यको सुविधा पु-याउने लक्ष्य राखिएको बताउनु भयो । 

सम्मेलन आयोजक नेपाल गणित समाजका केन्द्रीय उपाध्यक्ष श्रीराम खड्काले गणित विषयलाई जटिल हो भनेर भ्रम फैलिएको बताउनु भयो । “गणित हाउगुजी होइन, गणितप्रतिको धारणा सकारात्मक पार्ने प्रयास हाम्रो हो” । खड्काले भन्नुभयो, “देशको समृद्धिका लागि गणितले सहयोग पु-याओस् भनेर यो सम्मेलन आयोजना गरिएको हो । 

खड्काका अनुसार यो सम्मेलन देशभरमा आयोजना गरिएको सातौँ सम्मेलन हो । सम्मेलनमा अमेरिकाका विभिन्न कलेजका सात जना प्रोफेसर र नेपालकै विभिन्न कलेजका र पिएचडी प्राप्त गरी २१ प्रोफेसरहरू रहेको बताइएको छ । एक सय ५३ जना सहभागीभएको सम्मेलनले गणितको मूल्याङ्कन कसरी गर्नुपर्छ, मूल्याङ्कन पद्धति कस्तो बनाउनु पर्छ भन्ने निष्कर्ष निकाल्ने खड्काले बताउनु भयो । । 

खड्काका अनुसार अहिले गणितमै विद्यावारिधि गर्नेको सङ्ख्या पनि बढ्दो छ । यसले गणित विषय पनि समाजको अभिन्न र व्यावहारिक अङ्ग हो भन्ने देखाएको खड्काको भनाइ छ ।  यो सम्मेलन जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।