• १५ जेठ २०८२, बिहिबार

लोकतान्त्रिक गणतन्त्रबारे विद्यालयमा पढाउनुपर्छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसहित नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १३ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै लोकतान्त्रिक गणतन्त्रबारे पढाउनुपर्ने बताउनु भएको छ । पार्टीका विभागका सबै सदस्यहरूको विस्तारित भेला–बैठकलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन, भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्को उपलब्धिबारे पढाउनु पर्नेमा उहाँको जोड छ । 

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उहाँले उल्लेख गर्नुभयो । 

उहाँले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लोकतन्त्र–गणतन्त्र दिवस मनाउनु पर्नेमा जोड दिनुभयो । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उहाँले उल्लेख गर्नुभयो । 

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुता विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेको उल्लेख गर्नुभयो । 

जेठ १५ मा मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताको भन्दै सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिनुभयो । 

उहाँले जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको जानकारी दिनुभयो । लोकतन्त्रले के दियो ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई चिर्नुपर्ने उहाँको भनाइ छ ।  

लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा बलियो शक्ति पनि एमाले नै भएका कारण अहिले सबैभन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियोजित ढङ्गले भइरहेको उहाँले दाबी गर्नुभयो । उहाँले एमालेको उज्यालो भविष्यमाथि भइरहेको प्रहारलाई सामना गर्नुपर्नेमा जोड दिनुभयो ।