टोपलाल अर्याल
रेसुङ्गा, जेठ १३ गते । गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्तस्थित बुङ्गो ओनो नगरपालिकाबिच मैत्रीपूर्ण सहयोग आदान–प्रदान सम्झौता भएको छ । जापानको बुङ्गोओना नगरका मेयर कावानो फुमितोसी र नेपालको मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल ‘जीवन’ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यी दुई नगरबिच भगिनी सम्बन्ध विस्तार भइसकेको छ । कृषि, शिक्षा, संस्कृति र पर्यटनसहितका अर्थतन्त्रको विकास गर्ने गरेर सहयोग समझ्दारी पत्रमा हस्ताक्षर गरिएको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ले बताउनुभयो । यो महत्वपूर्ण अवसरलाई उपलब्धिमूलक बनाउँदै सम्बन्धको निरन्तरता र सहयोग आवश्यक रहेको खरेलले बताउनुभयो ।
जापानको बुङ्गो ओनो नगरका मेयर कावानो प्रमुख फुमितोसीले दुई नगरको नयाँ सम्बन्ध र सहकार्यले अर्थतन्त्र र पर्यटन विकासमा महत्वूर्ण टेवा पुराउने बताउनुभयो । मुसिकोट जन्मिएर जापानमा व्यावसाय गर्दै आउनुभएका लाल बहादुर केसी ‘रोशन’ले दुई देशबिचमा सम्बन्ध विस्तार र सहयोगको वातावरण सृजना गर्नुभएको हो । केसीले जापानको बुङ्गो ओनो नगरले स्वदेश र विदेशमा गरेर पाँचौ स्थानीय तहको रुपमा मुसिकोटसँग भगिनी सम्बन्ध गासेको बताउनुभयो ।
गत वर्ष मुसिकोट नगर र आईता प्रान्त बुङ्गो ओनो नगरपालिकाका जनप्रतिनिधीबिच सद्भावनापूर्ण भेटघाट र समझ्दारी पत्रमा हस्ताक्षर भएको थियो । भगिनी सम्बन्ध विस्तारको लागि जापानको बुङ्गोओनो नगरका प्रमुख फुमितोसी काबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । अहिले नेपालको तर्फबाट मुसिकोट नगरपालिकाका प्रमुख खरेललाई बुङ्गो ओनो नगरले जापान निमन्त्रणा गरेको थियो ।
गत वर्ष नेपाल आएकोबेला मुसिकोट र बुङ्गो ओनो नगरबिचको सहमति पत्रमा हस्ताक्षर गर्दै बुङ्गो ओनो नगरका प्रमुख फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक भएकाले आफूहरु लगानीको लागि इच्छुक रहेको बताउनुभएको थियो । उहाँले जापानका धेरै काम भएपनि काम गर्ने जनशक्ति नभएको र नेपालमा जनशक्ति भएपनि कृषि क्षेत्रमा काम नभएको बताउँदै दुई नगरबिचको समन्वयबाट दुवै कुुरा अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सामाजिक, संस्कृति, जैविक, भौगोलिक र प्राकृतिक विविधताले अत्यन्तै सुन्दर मुसिकोट नगरको विकासको लागि थुप्रै काम गर्न जरुरी छ ।
मुसिकोटको समृद्धिका आधारहरु सामाजिक न्याय, कृषि, पर्यटन र उद्योगको विकासका लागि जनशक्तिको विकास, विदेशका शहर, मुसिकोट नगरबाट प्रवासमा रहेका सीपयुक्त जनशक्तिहरुको समन्वय र उच्चतम प्रविधीको प्रयोग आवश्यक छ । जसका लागि जापानको बुङ्गो ओनो नगर एउटा माध्यम भएको मुसिकोट नगरपालिकाका प्रमुख खरेलले बताउनुभयो ।