• १५ जेठ २०८२, बिहिबार

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत

blog

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयको बारेमा जानकारी दिनुहुँदै बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, जेठ १३ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मङ्गलबार बसेको बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुजचन्द्र लामिछानेले प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश प्रमुखबाट सम्बोधन हुने सरकारको आगामी आवको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने गरी समय तय भएको छ ।

निजी वनको साल प्रजातीको रुख कटान तथा ओसारपसारसम्बन्धी कार्यविधि मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो । यस्तै, बागमती प्रदेशस्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । बैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिको दुई जनालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको मन्त्री लामिछानेले बताउनुभयो । 

धादिङका नेत्रराज पौडेल र रामेछापका निशा न्यौपानेलाई समितिको सदस्यमा नियुक्ति गर्ने निर्णय गरिएको हो । उक्त समिति पाँच सदस्यीय रहने व्यवस्था रहेकोमा यसअघिनै तीन जनाको नियुक्ति भइसकेको छ ।