• १५ जेठ २०८२, बिहिबार

हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, जेठ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गर्नु भएको छ ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।”

उहाँले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गर्नुभयो । “उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,” मन्त्री पाण्डेले थप्नुभयो ।


सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो । साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उहाँले जनाउनुभयो ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भन्नुभयो, “यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।”

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य सङ्कटमा परेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ ।” उहाँले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मान समेत गर्नुभएको थियो ।