• २४ जेठ २०८२, शनिबार

संरक्षण क्षेत्रमा मिचाहा प्रकोप बढ्दो

blog

मस्र्याङ्दी –९ पामचोकमा संरक्षण समिति र स्थानीय मिलेर वनमारा वनस्पति फडानी गर्दै । तस्बिरः नवीनराज कुँइकेल

नवीनराज कुइँकेल

लमजुङ, जेठ १३ गते । संरक्षण क्षेत्रमा मिचाहा (अतिक्रमण) प्रजातिका बनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाहा प्रजातिका झारहरु बढ्न थालेपछि संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । 

मिचाहा वनस्पतिले जैविक विविधता र मौलिक वनस्पतिको अस्तित्वमा खतरा उत्पन्न भएको भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय लमजुङले समुदाय स्तरमा सचेतना र नियन्त्रणका कामहरु गर्न थालेको छ । 

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा संरक्षण क्षेत्र व्यवस्थापन समितिहरुसँग मिलेर मिचाहा वनस्पति प्रजातिको व्यवस्थापन र नियन्त्रणमा जुटेको इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले जानकारी दिनुभयो । जंगलमा फैलिदो क्रममा रहेको वनमारा र गन्धे प्रजातिको प्रभाव कम गराउने र सचेतना फैलाउने उद्देश्यले समुदायसँग मिलेर काम गर्न सुरु गरिएको उहाँले बताउनुभयो । 

समुदायमा मिचाहा प्रजातिको नियन्त्रण तथा ब्यवस्थापनसम्बन्धी तालिम र नियन्त्रणको कामहरु गरिएको रेग्मीले जानकारी दिनुभयो ।

मस्र्याङ्दी गाउँपालिका वडा –२ घनपोखरा, वडा ३ खुदी, वडा ४ ताघ्रिङ, वडा ९ सिम्पानी र क्व्होँलासोथार गाउँपालिका –६ पसगाउँमा स्थानीय संरक्षण समितिलाई मिचाहा प्रजाति ब्यवस्थापनसम्बन्धी तालिम दिइएको एक्यापका संक्षण अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो । 

स्थानीय समुदायको सक्रिय सहभागितामा केही स्थानमा मिचाहा झारहरू उखेलेर हटाउने कार्य समेत सुरु गरिएको छ । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना कार्यक्रम १९ जिल्लामा सञ्चालनमा रहेको छ । संरक्षण क्षेत्रमा देखिएको मिचाहा प्रजातिका बनस्पतिलाई आगामी दिनमा विक्रेट, मल आदि बनाएर यसको नियन्त्रण र ब्यवस्थापन गर्न समुदायलाई तयारी बनाउन सुरु गरिएको न्यौपानेले बताउनुभयो । 

मिचाहा बनस्पतिको प्रकोपले स्थानीय बनस्पति तथा चराचुरुङ्गीको बासस्थान अतिक्रमण गर्ने र भूमिको उर्वरता घटाउने गरेको संरक्षणकर्मीहरु बताउँछन् । मस्र्याङ्दी –९ सिम्पानीको संरक्षण समतिकिा अध्यक्ष रामबहादुर थापाले मिचाहा प्रजातिका कारण खेतीपातीमा असर परेको र मौलिक बनस्पति हराउँदै गएकाले यसलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।