नवराज श्रेष्ठ
रामेछाप, जेठ १२ गते । रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिकामा ५१ प्रतिशतभन्दा बढी धाराको पानी पिउन अयोग्य रहेको पाइएको छ । गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, तथा विभिन्न संस्थाहरूले पानी खाइरहेका १५९ वटा मुहान तथा धाराको पानीको स्वच्छता जाँच गर्दा यस्तो पाइएको हो ।
१५९ वटा मुहान तथा धाराको पानीको स्वच्छता जाँच गर्दा ५१.५८ प्रतिशत अर्थात् ८२ वटा धाराको पानीमा फोहोर तथा दिसा जन्य जीवाणु भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “धेरे मुहान तथा धाराको पानीमा पिउन अयोग्य जीवाणु कोलिफर्म (ई–कोली) भेटियो । गाउँपालिकाअन्तर्गतका सात वटै वासीहरूलाई उमालेर मात्रै पानी पिउन अनुरोध गरिएको छ ।”
गाउँपालिकाले खानेपानी धारा तथा मुहान वरिपरि पशु चौपाया नबाध्न तथा चरण क्षेत्रको रूपमा प्रयोग नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा रहेका सबै खानेपानी उपभोक्ता समिति तथा अन्य सरोकारवालाहरूसँग छलफल गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यो गाउँपालिकामा गत वर्ष पनि स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको १५ वटा धाराको खानेपानीको स्वच्छता जाँच गर्दा फोहोर तथा दिसा जीवाणु कोलिफर्म (ई–कोली) भेटिएको थियो ।