• २६ जेठ २०८२, सोमबार

मधेश प्रदेशमा ३२० किलोमिटर कालोपत्रे सडक निर्माणको तयारी

blog

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ १२ गते ।
मधेश प्रदेश सरकारले ३२० किलोमिटर कालोपत्रे सडक निर्माणको तयारी थालेको छ । “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजानाअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले सडक निर्माणको तयारी थालिएको हो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजनाको दोस्रो चरणअन्तर्गत कालोपत्रे सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पनि यही योजनाअन्तर्गत प्रदेशभर ३२० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

मन्त्री यादवले नयाँ सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको बताउनुभयो । ३२० किलोमिटर कालोपत्रे सडक निर्माणका १३ अर्ब ५० करोड रुपियाँ विनियोजना गरिएको छ । आउँदो जेठ १८ गते एकैसाथ ६४ स्थानमा सडक शिलान्यास गरिने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार शिलान्यास मिति लगभल तय भए पनि शिलान्यास कसबाट गराउने विषयमा भन्ने टुङ्गो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली वा अन्य विशिष्टबाट शिलान्यास गराउने भन्ने विषयमा छलफल जारी छ । यस योजनाबाट मधेश प्रदेशको भौतिक पूर्वाधारमा ठुलो परिवर्तन आउने उहाँको भनाइ छ ।

“ग्रामीण क्षेत्रलाई शहरी क्षेत्रसँग जोड्ने, कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने र आपतकालीन सेवाहरू सहज रुपमा पुग्ने वातावरण बनाउने सरकारको योजना छ । सडक सञ्जालले व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ”, उहाँले थप्नुभयो । सडक पूर्वाधार सुदृढीकरणमार्फत रोजगारी सिर्जना, आर्थिक गति र जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने बताउँदै मन्त्री यादवले सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो ।

यसैगरी, मधेश सहिद लोकमार्ग निर्माणको पनि सम्भाव्यता अध्ययनपछि बजेट व्यवस्थापन प्रक्रियामा अघि बढाइएको छ । मधेश सहिद लोकमार्ग पर्सादेखि सप्तरीसम्म तीन सय १० किलोमिटर लामो बन्नेछ । पूर्वपश्चिम र हुलाकी राजमार्गको मध्य भागबाट सो राजमार्ग बनाउने सरकारको अवधारणा रहेको मन्त्री यादवको भनाइ छ । 

यी दुबै राजमार्गको बिचमा करिब ३० किलो मिटरको दूरी छ । मधेश सहिद मार्ग दुई लेनको हुनेछ भने सडकलाई स्तरन्नोति गरिने छ । राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर गर्ने लक्ष्य राखिएको मन्त्री यादवले बताउनुभयो ।