• २६ जेठ २०८२, सोमबार

विद्युत समस्या समाधान गर्न सात बुँदे ध्यानाकर्षण

blog

कोहलपुर वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाउँदै माओवादीको टोली । तस्बिरः निरज निश्चल

सिराज खान
नेपालगन्ज, जेठ १२ गते ।
कोहलपुर आसपासमा दिनहु जसो विद्युत अनियमित हुन थालेपछि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले विद्युत वितरण केन्द्र कोहलपुरलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काको नेतृत्वमा बुझाइएको पत्रमा विद्युत सेवा नियमित नहुँदा नागरिकको दैनिकी अत्यधिक प्रभावित भएको, उद्योग कलकारखाना सञ्चालनमा समेत बाधा पुगेको जनाउँदै तत्काल समाधानका लागि ध्यानाकर्षण गराइएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर विद्युत वितरण केन्द्रका प्रमुख माधव महतलाई सोमबार बुझाइएको ध्यानाकर्षण पत्रमा दिनमा पटक–पटक लाइन जाने समस्याले गर्दा कार्यालय, उद्योग, सञ्चार, स्वास्थ्य सेवा, तथा अन्य सेवामा गम्भीर असर पारेको, केही स्थानमा पोल र तार तानिएको भए पनि हालसम्म सेवा विस्तार नगरिएको, ३३ केभीए प्रसारण लाइनमा नियमित समस्या आउने गरेको, ढल्न लागेको पोलको तत्काल अनुगमन र मर्मत नगरिएकोले तत्काल त्यसतर्फ ध्यान दिन अनुरोध गरिएको छ ।

सोही प्रकारले सो ध्यानाकर्षणपत्रमा केही ठाउँमा पोलहरू ढल्न लागेको अवस्थामा रहेकाले तत्काल अनुगमन गरी मर्मत गर्नुपर्ने, मिटर रिडिङ र मिटर वितरण एकै जनाबाट गराउँदा दुरुपयोगको आशङ्का, लोडसेडिङ भएमा पूर्व सूचना दिनुपर्ने र  बिजुली आउँदा–जाँदाको कुनै रेकर्ड नरहेकोले राख्नुपर्ने कुराहरु पनि जनाइएको छ ।

ध्यानाकर्षण पत्र तयार पार्ने क्रममा मात्रै चार पटक विद्युत गएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष खड्काले कार्यालयमा फोन गर्दा ट्रान्समिटर बिग्रिएको भनेर अस्पष्ट उत्तर आएको बताउनुभयो ।

बारम्बार सिस्टम बिग्रिने सूचना आए पनि त्यसका कारण र समाधानबारे सेवाग्राहीलाई जानकारी नदिइने गरिएको पनि उहाँले बताउनुभयो । 

ध्यानाकर्षण पत्र बुझ्दै कोहलपुर वितरण केन्द्रका प्रमुख महतले आफुहरुले विद्युत नियमित गर्न अहोरात्र खटिएर काम गरिरहेको जनाउँदै ध्यानाकर्षण गराइएका बिवायहरुलाई गम्भीरतापूर्वक लिइएको बताउनुभयो ।