बोमलाल गिरी
नवलपुर, जेठ १२ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ । नयाँ पुल बनाउन समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर यातायात सञ्चालनको तयारी गरिएको हो ।
वर्षाअघि नयाँ पुल नबन्ने भएपछि पुरानैलाई मर्मत गरेर सञ्चालन गर्न लागिएको हो । अबको १५ दिन भित्रमा पुललाई सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम भइरहेको सडक आयोजनाले जनाएको छ ।
पुलको भाँचिएको भागलाई तलबाट टेको लगाएर उठाउने र पहिलेको अवस्थामा आएपछि भाँचिएको फलामका पाता फेरेर पुल सञ्चालन गरिने सडक डिभिजन चितवनका इन्जिनियर आषिश नेपालले जानकारी दिनुभयो ।
‘‘नयाँ पुल बन्नका लागि अझै तीन चार महिना लाग्ने देखियो, त्यसैले हाललाई पुरानै ममर्त गरेर सञ्चालन गर्नु पर्ने बाध्यता भयो,’’ इन्जिनियर नेपालले भन्नुभयो, ‘‘पुरानो मर्मत गरिरहँदा त्यति बलियो त हुँदैन, त्यसैले नयाँलाई नै प्राथमिकता दिनुपर्छ ।’’
पुललाई मर्मत गरेर सन्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । मङ्सिर २९ गते पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जादै गरेको टेलर हिँड्दै गर्दा पुल भाचिएको थियो ।
झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । हाल पुल भाचिएपछि सवारी साधन आवागमनमा रोक लगाइएको छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारी साधन लामो डाईभर्सनबाट पास हुने गरेका छन् ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएपछि मर्मत गर्दै सञ्चालन गरिएको छ ।