नवीनराज कुइँकेल
लमजुङ, जेठ १२ गते । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ साइकलिङ प्रतियोगिता सुरु भएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट सुरु भएको प्रतियोगिता आठौं दिनमा पोखरा पुगेर टुङ्गिनेछ ।
आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अनुसार प्रतियोगितामा विभिन्न सात राष्ट्रका तीन जना महिलासहित २१ जना सहभागी छन् । सहभागीहरू अमेरिका, अस्ट्रेलिया, ब्रिटिश, इटाली, जर्मनी, बेल्जियमका साथै भारतीय सेना र नेपालका छन् ।
प्रतियोगीमा नेपाली १३ जना र अन्य विदेशी हुन् । महिला सहभागीमध्ये एकजना अमेरिकन र दुईजना नेपाली रहेको साइकल कल्चर कम्युनिटी काठमाडौंका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक अजय पण्डित क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगी टोलीले मनाङ, मुस्ताङ हुँदै पोखरासम्मको दुईसय ३० किलोमिटर दूरी पूरा गर्नेछ । आठौं दिन पोखरामा पुगेर यो दौडको समापन हुने आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका अध्यक्ष तारालाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता महिला र पुरुषका लागि छुट्टाछुट्टै गरिएको छ । प्रतियोगितामा महिला र पुरुष दुवैको पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा १९ वर्षदेखि ६१ वर्ष उमेर सम्मका प्रतियोगीले भाग लिएका छन् । प्रतियोगितामा दर्ता शुल्क वापत विदेशीसँग प्रतिव्यक्ति दुई हजार डलर र नेपालीसँग ४० हजार रुपियाँ लिएको छ भने पाँच जना साइकलका राष्ट्रिय खेलाडीलाई निःशुल्क सहभागी गराइएको छ ।
प्रतियोगीमध्ये हरेक दिनको पहिलो, दोस्रो, तेस्रोको समय तालिका टिपेर अन्तिम दिनमा कम्पाइल गरी पहिलो, दोस्रो र तेस्रोको छनौट गरिने नीति रहेको आयोजकको भनाइ छ । विगतका वर्षमा नोभेम्बरमा गर्ने यो दौड प्रतियोगिता यो वर्ष त्यो पर्यटकीय गन्तव्यको महिना भएको र सबै व्यस्त रहने हुँदा ‘मे’ महिनामा गरिएको आयोजक साइकल कल्चर कम्युनिटी काठमाडौंका सचिव ज्ञानेन्द्र स्थापितले जानकारी दिनुभयो ।
प्रतियोगिहरु संसारकै अग्लो पाँच हजार चारसय सोह्र मिटरको उचाइमा रहेको थोराङ्ला भञ्याङ पास गर्नेछन् । ‘हाइ अल्टिच्युट’ मा नेपालीहरुको अभ्यास राम्रो भएकाले त्यसको फाइदा नेपाली खेलाडीले उठाउने गरेको प्रतियोगिताका संयोजक अजय पण्डित क्षेत्रीले बताउनुभयो ।