काठमाडौँ, जेठ १२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ ।
मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले आइतबार निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताउनुभयो । उहाँले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गर्नुभयो ।
मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो ।
‘‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय हो । लामो समयको प्रतिक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ । अहिले पनि काम भइरहेको छ । हामी अगामी कात्तिक ७ गतेदेखि सामान्य सब–अपरेशनको काम चाहीँ सुरु गर्छौं । सिभिल वर्क अक्टोवर २५ मा सकिन्छ ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्णरुपमा अगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौँ । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनको लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि कामहरु गर्छौं ।’’
नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।