• २४ जेठ २०८२, शनिबार

तिल पहिरोको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

blog

काँजी हिमालम देखिएको हिमताल । तस्बिर सौजन्य : विज्ञ टोली

राजन रावत

हुम्ला, जेठ १२ गते । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोली काँजी हिमालमा पुग्न सफल भएको छ । विज्ञ टोली आइतबार बिहान तील गाउँबाट पैदल गएर दिउसो सो हिमालमा पुग्न सफल भएको हो ।  

पाँच हजार ३५० मीटरमा उचाईमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । सो हिमालमा यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको अध्ययन टोलीले बताएको उहाँले जानकारी दिनुभयो । गन्तव्य पुग्न टोली सफल भएको र थप केही पनि बताउन नचाहेको उहाँले बताउँदै आफ्नो प्रतिबेदनमा टोलीले सबै कुरा समेट्ने उताउनुभयो । 

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् । एक जना तील गाउँका स्थानीय पनि सहभागी हुनु भएको थियो । 

गत जेठ १ गते रातीको बाढी र पहिरोका कारण नाम्खा गाउँपालिका–६ तील गाउँका १८ घरका ३२ जना परिवार विस्थापित हुनु भएको छ ।