• २४ जेठ २०८२, शनिबार

अवकासपछि कागज उद्योगमा रमाउनुहुँदै मोतिराज

blog

कागज उद्योगमा काम गर्नुहुँदै मोतिराज र उहाँको श्रीमती ताराकुमारी गौतम । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ १२ गते ।
लामो समय शिक्षण पेशामा बिताउनुभएका मालिका गाउँपालिका ६ दरबाङका मोतिराज गौतमले नेपाली हाते कागज उद्योग सञ्चालन गर्नुभएको छ । परम्परागत सिप र प्रविधिमा आधारित कागज उद्योग सञ्चालन गरेर गौतमले वार्षिक रुपमा १५ देखि २५ लाखसम्मको कागज बिक्री गर्दै आउनुभएको छ ।

गत कात्तिकदेखि ४१ वर्ष लामो शिक्षण पेशाबाट अवकास लिएर गौतमले मालिका गाउँपालिका ५ स्थित थापाचौरमा परम्परागत नेपाली हाते कागज उद्योग सञ्चालन गर्नुभयो । बिहानदेखि बेलुकासम्म उहाँ र उहाँको श्रीमती ताराकुमारी गौतम कागज उद्योगमा काम गर्नुहुन्छ । थापाचौरमा पाँच रोपनी जमिन भाडामा लिनुभएका गौतमले मालिका कागज उद्योग दर्ता गरेर कागज उत्पादन गर्दै आउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘लामो समय शिक्षण पेशामा बिताइयो । आफ्नै गाउँघरमा केही न केही उद्योग सञ्चालन गरौं भन्ने लाग्यो । यसअघि सामुहिक रुपमा सञ्चालन गरेको कागज उद्योग केही वर्ष पहिलादेखि बन्द थियो । उद्योगले तिर्नुपर्ने सात लाख रुपियाँ ऋण आफैँले भुक्तानी गरेर अहिले एकल रुपमा पुनः उद्योग सञ्चालन गरेको छु ।’’

यसअघि मालिका गाउँपालिका–३ अदिभारामा सामुहिक रुपमा उद्योग सञ्चालन गरिएको थियो । केही वर्षदेखि बन्द भएको उद्योग २०७६ सालदेखि गौतमले सञ्चालन गर्दै आउनुभएको छ । उद्योगमा चारजना कामदार समेत छन् । जङ्गलमा खेर गएको लोक्ताबाट बनाइने नेपाली कागज आजकल सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन थालिएकाले माग अनुसार उत्पादन गर्न नसकिएको उहाँले बताउनुभयो ।


अदिभारामा बाढी तथा कटानको जोखिम, विद्युत् आपूर्तिमा अनियमितता र बजारदेखि टाढा भएकाले थापाचौरमा स्थानान्तरण गरेको उद्योगका सञ्चालक गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आठ महिना यता उद्योगले पुनः व्यावसायिक उत्पादन सुरु गरेको छ । यहाँ उत्पादित कागजलाई बजारको समस्या छैन, कच्चापदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा चुनौति छ ।’’ एक बण्डल कागजको दुई सय रुपियाँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । कागजको माग उच्च भएकाले माग अनुसार पु¥याउन धौँधौँ परेको उहाँको भनाइ छ ।

‘‘अहिले कामदार बिदामा गएकाले श्रीमान श्रीमती मिलेर दिनभर काम गर्ने गरेका छौं ।’’ उहाँले भन्नुभयो, ‘‘दिनभर दुईजनाले काम गर्दा पाँच सयदेखि सात सय प्रति पेपर उत्पादन गर्न सकेका छौं ।’’ फ्रेममा लेदो राखेर चारदेखि पाँच घण्टा घाममा सुकाएपछि कागज तयार हुने उहाँले बताउनुभयो । रङ्गिन कागज पनि उत्पादन सुरु गरेको उहाँको भनाइ छ । रुम र डाँडा गाउँमा रहेको सामुदायिक वनबाट लोक्ता सङ्कलन गरेर ल्याउने गरेको उहाँले बताउनुभयो । लोक्ता सङ्कलन गर्ने सामुदायिक वन उपभोक्ता समुहलाई प्रतिकेजी एक सय रुपियाँका दरले भुक्तानी गर्ने गरेको उहाँले बताउनुभयो ।

२० ग्रामको कागज कार्यालय प्रयोजनका लागि र बाटेको धुप बनाउनका लागि धेरै माग आउने गरेको उहाँले बताउनुभयो । चिना लेख्ने कामका लागि प्रयोग हुने ४० ग्रामको कागज काठमाडौँसम्म बिक्री हुने गरेको उहाँको भनाइ छ ।

उत्पादन गर्न सकेमा वार्षिक रुपमा १५ देखि २५ लाख रुपियाँसम्मको कागज बिक्री हुने उद्योग सञ्चालक गौतमले बताउनुभयो । कागज उद्योगमा अहिले चार सय वटा फ्रेम छन् । आकासबाट पानी आउँदा कागज सुकाउन दुईवटा प्लास्टिक टनेल निर्माण गर्नुभएको छ । चालु आर्थिक वर्षमा मालिका गाउँपालिकाले उद्योगको स्तरीकरणका लागि साढे दुई लाख रुपियाँ सहयोग गरेपछि गोदाम घर लगायतका पूर्वाधार बनाएका उहाँले बताउनुभयो ।

उद्योगमा विभिन्न आकारका कागजको माग हुने गरेकामा सरकारी तथा गैरसकारी कार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धूप निर्माण गर्नेछ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागजसहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको उहाँले बताउनुभयो ।


उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चापदार्थ लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मत सम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाइ छ । उद्योगमा हाल बोयल मेशिन, कटर, बिटर मेशिन र लोक्ता पकाउने मेशिन भएको र भविष्यमा अन्य उद्योगलाई आवश्यक पर्ने अन्य मेशिनहरु थप्ने योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चापदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन् । लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले वनजङ्गलमै खेर गएको छ । उत्पादन भएको कागज बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयहरुले स्थानीय उत्पादनको प्रयोग गरेमा वनजङ्गलमा खेर गएको लोक्ताको प्रयोग हुनुका साथै रोजगारी वृद्धि हुने उद्योग सञ्चालक गौतमले बताउनुभयो । 

स्थानीय स्तरमा सञ्चालित साना उद्योगहरुको स्तरीकरणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने गरेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त कागज उद्योगको स्तरीकरणका लागि साढे दुई लाख रुपियाँ प्रदान गरिएको उहाँले बताउनुभयो ।