काठमाडौँ, जेठ १२ गते । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले उक्त प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको ठहर गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा तथा रकम असुली प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताउनुभयो । उहाँले गृहमन्त्रीले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि काँग्रेसले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गरेको जानकारी दिनुभयो ।
प्रवक्ता महतले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पार्नुभयो । उहाँले भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको दोहोर्याउनुभयो ।
“गृहमन्त्रीज्युले अहिले जुन विषय सार्वजनिक रूपमा, मिडियामा आएको छ । त्यस सम्बन्धमा उहाँले स–विस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै कमीकमजोरी गल्ती गरेको छैन भनेर स–विस्तार कुरा राख्नुभयो । हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्यौ ।,’’ प्रवक्ता महतले भन्नुभयो, ‘‘उहाँको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर जो संलग्न छन्, ती माथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन । जहाँसम्म गृहमन्त्रीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।” उहाँले छानबिनको दायरामा नभएपछि गृहमन्त्रीलाई दोषी भन्न नमिल्ने जिकिर गर्नुभयो ।