• ११ पुस २०८१, बिहिबार

नेतृत्वमा देखिनुपर्ने दूरदृष्टि

blog

नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ । जटिल परिस्थितिमा निकै परिश्रम गरेर काम फत्ते गर्नेहरू पनि पर्याप्त सङ्ख्यामा भेटिन सक्छन् । असामान्य प्रकृतिका समस्यामा लामो समयसम्म घोत्लिएर बडो मेहनतका साथ समाधान गर्न सामान्य मानिसले पनि सक्छन् तर नेता भनेको फरक प्रकृतिको गुण भएकै हुनुपर्छ । सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सके मात्रै नेता वास्तविक नेता ठहरिन्छ ।

हामीकहाँ विशेषतः राजनीतिक दल सम्बद्ध व्यक्तिलाई नेताको पगरी गुथाइने गरिएको छ । दलको सदस्यता काटेर सभा–समारोहमा सहभागी हुने व्यक्तिलाई नेता भन्ने गरिएको छ । नेतृत्व गर्ने गुुण होस् या नहोस्, जय नेपाल, लाल सलाम, कमरेडजस्ता शब्द प्रयोग गर्दै हिँड्ने व्यक्तिलाई समाजमा पनि नेता भनिन्छ र व्यक्ति स्वयंले पनि आफूलाई नेता भएकै महसुस गर्दछ । गाउँले दाजुभाइले नेताजी भन्ने शब्दले पुकारिदिएपछि राजनीतिक दलको झन्डा बोकेर हिँड्दैमा त्यो नेताजीले आफूलाई अन्य नागरिकभन्दा बेग्लै ग्रहबाट धर्तीमा अवतरित भएको ठान्ने प्रवृत्ति बढ्दै गएको छ । 

कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा वा नाइकेलाई नेता भनिन्छ भनेर नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएको छ । नाटक, महाकाव्य आदिको प्रमुख पात्रलाई पनि नेता भन्न सकिन्छ । बाटो बताइदिने व्यक्ति, मालिक आदि पनि नेता नै हुन् भन्ने शब्दकोशमा उल्लेख छ । यस अर्थमा के भन्न सकिन्छ भने भीडको नेतृत्व गरेको भए पनि उसले असल मार्ग अनुसरण गर्दै आफ्ना पछुवालाई पनि सही बाटोमा हिँड्न अभिप्रेरित गरेको छैन भने ऊ नेता बन्न सक्दैन । सही बाटो समात्यो भने असम्भव देखिएको कुरा पनि राजनीतिमा सम्भव हुन्छ र गलत बाटो समात्दा शक्तिले मात्रै केही हुँदैन भन्ने नेपालकै परिघटनाले प्रमाणित गरिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गर्नुभएको थियो तर उनै देउवा २३ सिट मात्रै प्रत्यक्ष निर्वाचनमा जितेका अवस्थामा पनि पुनः प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । दम्भ, अहङ्कार र गलत प्रवृत्तिका कारण झन्डै दुईतिहाइको बहुमत भएको भीडको नेतृत्व गर्दा पनि ओली भने समय नबित्दै प्रधानमन्त्री पदबाट बाहिरिन परेको हामी सबैले देखेकै छौँ । प्रजातान्त्रिक व्यवस्थाका लागि सङ्घर्षशील व्यक्तिमध्ये सबैभन्दा चर्चित व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला नै हुनुहुन्छ ।

उहाँले सशस्त्र क्रान्तिको बाटो पनि अँगाल्नुभयो र शान्तिपूर्ण सङ्घर्षको मार्ग पनि त्याग्नुभएन । हतियारसहितको प्रजातान्त्रिक लडाइँलाई भन्दा सत्याग्रहको विद्रोहलाई नै उहाँले प्राथमिकता दिनुभयो । बाध्य भएर सशस्त्र क्रान्ति सञ्चालन गर्दा पनि सर्वसाधारण जनतालाई आहत पु-याउने गरी होइन कि राणाशाही व्यवस्थालाई कमजोर तुल्याउने तर्फमा मात्रै केन्द्रित गराउनुभयो । हिंसाका माध्यमबाट भन्दा शान्तिपूर्ण आन्दोलनका माध्यमबाट स्थापित हुने प्रजातन्त्र नै दिगो र हितकर हुन्छ भन्ने मान्यता राखेर अगाडि बढेकै कारण आज बीपी सर्वप्रिय नेताका रूपमा स्थापित हुनुभएको छ ।

त्यसपछि कम्युनिस्ट राजनीतिका माध्यमद्वारा जनतालाई अधिकारसम्पन्न बनाउन सकिन्छ भन्ने मान्यता राख्नुभएका पुष्पलाल पनि नेपालमा नेताका रूपमै चिनिनुभएको छ । उहाँ पनि विवादित नहुन्ुभएको, देश र जनताका विरुद्धमा कुनै खराब कदम नचाल्नुभएका कारण आजसम्मका मानिसले नेताकै रूपमा मान्दै आएका छन् । बीपी कोइरालाकै मार्ग अनुसरण गरेर नेता हुनुभएका लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, क्रान्तिपुरुष गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरूले आ–आफ्ना कालखण्डमा नेतृत्व गरेर यो संसार छाडिसकेका छन् ।

उनै कोइरालाको धार समातेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डेलगायतका थुप्रै नेता नेपाली कांग्रेसका तर्फबाट अग्रपङ्क्तिमा देखिएका छन् । पुष्पलालको नाम लिएर भनौँ या उनीभन्दा पनि बढी लेनिन, स्टालिन र माओहरूलाई आदर्श मानेर राजनीति गरेका केपी ओली, माधव नेपाल, झलनाथ खनाल, प्रचण्डहरू विभिन्न पार्टीका नेता बनेर बसेका छन् । उही कम्युनिस्टका नाममा कहिले कुन पार्टी र कहिले कुन गर्दै अस्थिर राजनीतिमा रमाएका थुप्रै व्यक्ति नेताकै रूपमा स्थापित भएकै छन् । यहाँ उल्लेख गरिएका र नगरिएका नेताहरू सबैको नेतृत्व गर्ने शैली बेग्लाबेग्लै देखिएको छ ।

कुनै नेतामा शब्दकोशले भनेझैँ नेता भन्न लायकका गुणहरू पनि पाइन्छन् भने कुनै नेता नाम मात्रका नेता पनि देखिएका छन् । कुनै नेतालाई नेता मान्दा नेता भन्ने शब्दकै अपमान हुने देखिएको छ तर पनि हामी समग्रमा सबैलाई नेता नै भन्ने गर्दछौँ । असल बाटो अँगालेको र जनतालाई पनि असल मार्ग अनुसरण गर्न सिकाउँदै हिँडेको व्यक्तिलाई मात्र नेता भन्ने र झन्डा मात्रै बोकेर हिँड्नेलाई कार्यकर्तामा सीमित गर्ने परिपाटीको विकास गर्न नसक्दा नेताहरू सबै नै उपहासका पात्र बन्दै गएका छन् । 

पुराना संरचना सबै ध्वस्त पारेपछि मात्रै नयाँ नेपाल बन्छ भन्ने मान्यता बोकेर निर्माण भइसकेका भौतिक संरचना भत्काउँदै, उडाउँदै र धुलिसात पार्दै रमाउने नेताहरू पनि नेपाल र नेपालीले पाए । नेपाल र नेपालीका धर्म, संस्कृति, संस्कार र परम्पराहरू सामन्ती व्यवस्थाका द्योतक हुन् भन्दै तिनको विनाशका लागि सोझा जनतालाई उक्साउँदै मठमन्दिरहरू भत्काउँदै हिँड्ने नेताहरू पनि देखिए । राजनीतिमा धोकाधडी सामान्य हो भन्दै जनता झुक्याउने खेलमा मस्त हुने नेताहरू पनि हाम्रासामु नै छन् । जनताको उन्नति, लोकको समुन्नति र नेपालको विकासमा मात्रै आफ्नो, समाजको र सम्पूर्ण देशको हित छ भनेर त्यसैका लागि समर्पित नेताहरू पनि थोरै सङ्ख्यामा भेटिन्छन् ।

थरीथरीका नेताहरू छन् तर कसले हामीलाई कता लैजाँदै छ, त्यो मूल्याङ्कन गर्दैनौँ । हामीलाई हिँडाउन खोजिएको बाटो सही छ कि गलत विचार गर्दैनौँ । बोलीमा या भाषणमा प्रखर भए त्यो ठूलो नेता र प्रभावकारी भाषण गर्न नसक्ने नेता नै होइन भन्ने गर्दछौँ । एउटा व्यक्ति लोकतन्त्रका लागि लड्दछ, अर्को व्यक्ति लोकतन्त्र समाप्त पारेर एकतन्त्री शासन व्यवस्थाका लागि प्रयत्नरत रहन्छ । भलै धर्म निरपेक्षताका सन्दर्भमा प्रश्नहरू उठिरहेका होलान्, जनमत सङ्ग्रहको माग भइरहेको होला, एउटा व्यक्ति गणतान्त्रिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संस्थागत गर्न क्रियाशील रहिरहेको हुन्छ भने अर्को व्यक्ति ती उपलब्धिलाई सखाप पारेर रमाउन खोजिरहेको हुन्छ । 

यस्ता दुवै खाले प्रकृतिका व्यक्तिहरूका पछाडि केही न केही समुदाय रहेको हुन्छ र अग्रपङ्क्तिमा रहेकालाई नेता नै भन्ने गरिन्छ तर नेताको परिभाषा हेर्दा एउटालाई मात्र नेता मान्नुपर्ने हो, दुवैलाई नेता भन्न मिल्ने जस्तो चाहिँ देखिँदैन तर हामी दुवैलाई नै नेता भनिरहेका छौँ । सबै नेताको शैली भिन्नभिन्न प्रकृतिकै हुन्छ तर केन्द्रबिन्दुमा देश र जनता नै हुनुपर्दछ । कोही भीडले जे निर्देश ग¥यो, त्यसैका पछि कुदेर नेता बनेको हुन्छ भने कोही भीडलाई सही बाटो देखाएर नेता बन्दछ । वास्तवमा नेता त्यो हो, जसले एक्लै पर्दा पनि सत्यको बाटो त्याग्दैन र अन्तिममा गलत बाटो समातेको भीडलाई पनि सत्य उन्मुख गराउन सक्दछ । भीडको प्रमुख व्यक्ति डन हुन सक्ला, नेता हुन सक्दैन । नेता हुन असल चरित्र अँगाल्नै पर्दछ । दूरदृष्टि हुनै पर्दछ । विगतमा हाम्रा पूर्वजले के गरे र किन गरे, विश्लेषण गर्न सक्नैपर्दछ ।

हामीकहाँ नेता बनेपछि कृषिकर्म र घरायसी कार्यमा संलग्न हुन हुँदैन भन्ने अत्यन्त खराब प्रवृत्तिको विकास भएको छ । इस्टकोट ढल्काएर चौतारामा गफ चुट्ने काम मात्रै नेताको जिम्मेवारीमा राख्ने गरिएको छ । कहिले कता सभामा भाषण गर्ने, बैठकहरूमा सहभागी हुने र जनतालाई आश्वासन बाँड्ने मात्रै नेताको कर्तव्यमा राख्न थालिएको छ । भर्खरै ३५ हजारभन्दा बढी जनप्रतिनिधि चुनिएका छन् । अब निकट भविष्यमै सङ्घ र प्रदेश  तहको निर्वाचन हुँदै छ । अनेक पार्टीका अनेक पदका लाखौँ नेता क्रियाशील छन् । यसरी लाखका सङ्ख्याका नेताहरू कामविहीन भएर दिन बिताउँदा नेपालको विकास सम्भव होला ? हरेक थरीका नेता पाइए तर अब मुलुकले पेसा–व्यवसाय अँगालेर जनतालाई पनि काममा तल्लीन हुन सिकाउने उदाहरणीय नेता खोजेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न कठिन मोडमा देशको सही नेतृत्व गर्दै निकास दिनुभएको छ । यो अवस्थामा अब यो इम्बोस्ड नम्बर प्लेटको विवादलाई पनि समाधान दिनुपर्ने भएको छ । भारतमा हिन्दी भाषा चल्छ र पनि गाडीहरूमा अङ्ग्रेजीमै नम्बर लेखिएको छ भन्ने तर्क दिनेहरू पनि आउलान् । अङ्ग्रेजीमा लेखे इज्जत बढ्छ, नेपालीमा घट्छ भन्ने सल्लाह दिनेहरू पनि होलान् । सबैले बुझ्ने भाषामै लेख्दा सहज हुन्छ भन्नेहरू पनि भेटिएलान् तर प्रधानमन्त्रीको कुर्सीमा बसेर देश चलाउनेले ७० वर्षको उमेरमा पनि भक्ति थापाहरूले बन्दुक बोकेर आएका अङ्ग्रेजका विरुद्धमा खुकुरी बोकेर नेपाल र नेपालीलाई स्वतन्त्र राख्न किन युद्ध लडे होलान् भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।

इम्बोस्ड नम्बर प्लेट नेपालको यातायात क्षेत्रलाई आधुनिकतातर्फ डो-याउने एउटा माध्यम बन्न सक्ला तर आजको आजै चाहिएको यो अत्यावश्यक कुरो होइन । नेपाली अक्षरमा लेखिएका नम्बर प्लेटहरूलाई विस्थापित गर्दै अन्य भाषाहरूतर्फ आकर्षित हुनु भनेको आफ्नो मौलिक पहिचान गुमाउँदै जानेतर्फको प्रयत्न मात्रै हुनसक्दछ । त्यसैले जबसम्म नेपाली भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेटको विकास हुँदैन, तबसम्मलाई यो प्रक्रिया रोक्ने कि ? 

Author

डा. शान्तिकृष्ण अधिकारी