• ११ जेठ २०८२, आइतबार

ग्रामिण क्षेत्रको विकासमा प्राथमिकता

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ११ गते । तनहुँको व्यास नगरपालिकाले गाउँको विकासको लागि प्राथमिकता दिएको छ । सहरी क्षेत्रमा विकास पूर्वाधार धेरै निर्माण भइसकेकोले गाम्रिण क्षेत्रलाई प्राथमिकता दिएर विकासको बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका जनप्रतिनिधीले आइतबार गरेको तीन वर्षे कार्यकालको प्रगति प्रतिवेदन सार्वजानिक गर्ने क्रममा गाउँलाई प्राथमिकता दिइएको बताइएको हो। नगरपालिकाको आन्तरिक राजस्व सहरी क्षेत्रबाट आउने भएपनि सामाजिक न्यायको हिसाबले विकासमा पछि परेको क्षेत्रलाई प्राथमिकता दिइएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

राजस्व धेरे उठ्ने वडामा धेरै र कम उठ्नेमा थोरै बजेट विनियोजन गर्नु पर्छ भन्ने दवाव भएपनि विकासले पछि परेको स्थानलाई प्राथमिकता दिइएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । न्यौपानेले भन्नुभयो, ‘सहरीक्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विकासको पूर्वाधार सुविधा पाइरहेकोले गाउँलाई प्राथमिकता दिएका छौं ।’ ग्रामिण वडाबाट पाँच देखि आठ लाख र सहरी वडामा एक करोड भन्दा धेरै वार्षिक रुपमा राजस्व उठ्ने भएपनि गाउँको विकास नभएसम्म नगर विकास नहुने भएकोले १४ वटै वडालाई समान रुपमा नगरपालिकाले एक÷एक करोड रुपियाँ वितरण गर्ने गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा नगरपालिकाको वडा नम्बर ८ को सम्पन्न हुने अवस्थामा, ३ को निर्माण प्रारम्भ र २ को निर्माण हुन बाँकी रहेको अब सबैको भवन निर्माण भईसकेको जानकारी दिईएको थियो । 

व्यास नगरपालिका–११ मा चिस्यान केन्द्र सम्पन्न भई सूचारु गरिएको, वैरेनी जग्गा विकास आयोजना सम्पन्न हुने चरणमा रहेको, अभिभावक विहिन बालबालिकाको लागि आवास सहितको समता विद्यालय सञ्चालन गरिएको, वडा नम्बर १,२,३,४,५,६,७,९,१०, ११ र १३ कार्यालय देखि सदरमुकाम दमौलीसम्म कालोपत्रे सडकको पहुँचमा रहेको र वडा नम्बर ८, १२ र १४ जोडिने क्रममा रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

नगर प्रमुख न्यौपानेका अनुसार वडा नम्बर, ११, १०, ९ र ७ जोड्ने १० किलोमिटर पराशर मार्गमा पर्ने सडक विश्वबैंकको सहयोगमा बिस्तारको काम भईरहेको छ । सहरी क्षेत्रमा उत्सर्ग हुने फोहोरलाई स्रोतमै वर्गिकरण गरी कुहिनेलाई गौ संरक्षण गाईको मलसँगै पाङ्गरिक मल बनाएर किसानलाई वितरण गरिएको छ । नकुहिने फोहोरलाई  पुनः प्रयोग गरी आयमा वृद्धि भइरहेको छ । 

फोहोर मैला व्यवस्थापनको लागि सरसफाई केन्द्र स्थापनाका लागि जग्गा खरिद कार्य सम्पन्न गर्न सर्वदलिय संयन्त्र मार्फत सहजीकरण भईरहेको छ । वडा नम्बर १० को दुम्सीचौरमा नारेश्वर ताल निर्माणधिन अवस्थामा रहेको यस वर्ष बाँध निर्माण सम्पन्न हुन गइरहेको छ । 

व्यास नगर अस्पतालको निर्माण पुरा भएको छ । प्रदेश, सङ्घका जनप्रतिनिधीसँग समन्वयको अभावमा विकास प्रक्रिया अपेक्षिक उपलब्धी हुन नसकेको नगर प्रमुख न्यौपाने बताउनुुहुन्छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, "निर्वाचनका समय गरिएका वाचा अनुसारको विकासको काम अघि बढाएका छौं, ग्रामिण क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौं ।"

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे तथा वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु, वडासदस्यहरुको सहभागितमा गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले दमौली अस्पताल स्तरोउन्नतीको लागि अपुग जग्गा जिल्ला सभाबाट पारित गरि उपलब्ध गराउन पहलकदमी भइरहेको जानकारी दिनुभयो । 

प्रदेश अस्ताल दमौली जिल्लास्तरको अस्पताल भएको १५ बेडको क्षमता भएपनि आन्तरिक स्रोतबाट व्यवस्थापन गरी ५७ बेड सञ्चालन गरिरहेको वाग्लेले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले ५० बेड सञ्चालनको लागि चाहिने जनशक्तिको लागि दरबन्दी स्विकृत गर्न लागेको समन्वय प्रमुख वाग्लेले बताउनुभयो ।