• ११ जेठ २०८२, आइतबार

गोरखापत्रका सम्पादक सल्लाहकार महर्जनको बिदाइ

blog

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनलाई बिदाइ गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, जेठ ११ गते । गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनको आइतबार बिदाइ गरिएको छ । उहाँलाई २०८० जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पादक सल्लाहकार नियुक्त गरेको थियो । दुई वर्षको कार्य अवधि पूरा भएपछि उहाँलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले उहाँलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो । साथै उहाँलाई संस्थानका प्रकाशन प्रमुख तथा विभागीय प्रमुखसहित सहकर्मीले बिदाइ गर्नुभयो । 

कार्यकारी अध्यक्ष सुवेदीले संस्थानमा रहँदा उहाँसँगको सम्बन्ध र सहकार्यको चर्चा गर्दै सम्पादक सल्लाहकार महर्जन भलाद्‍मी र सिर्जनशील भएको बताउनु भयो । 

यसैगरी, महाप्रबन्धक ऐरीले संस्थानमै पत्रकारिता सेवामा रहेर काम गर्नुभएका महर्जन संस्थानको सम्पादक सल्लाहकार बन्न सफल हुनुभएकाले भित्रैबाट माथिल्लो पदमा पुग्न सकिन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको उल्लेख गर्नुभयो । 


सम्पादक सल्लाहकार महर्जनले पत्रकारको रुपमा र सल्लाहकार सम्पादक भएर संस्थानमा १७ वर्ष १० महिना २७ दिन सेवा गर्ने अवसर पाएको बताउनु भयो । गोरखापत्रसँगको आत्मीय सम्बन्ध सधैं कायम रहने विश्वास व्यक्त गर्दै उहाँले गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक सङ्ग्रहालय र पाठशाला भएको उल्‍लेख गर्नुभयो। 

गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेत, डिजिटिल प्रमुख नारद गौतम, योजना विभाग प्रमुख भगीरथ बस्नेत र गोरखापत्र संस्थान नेपाल राष्ट्रिय कर्मचारी संगठन २०६३ का अध्यक्ष विष्णुप्रसाद खनालले सल्लाहकार सम्पादकसँगको सहकार्य र उहाँले पुर्‍याउनु भएको योगदानको चर्चा गर्नुभयो ।