• २१ जेठ २०८२, बुधबार

बगैँचा मासेर बनाइएको मार्ग

blog

काठमाडौँ उपत्यकाको कान्छो व्यवस्थित र आधुनिक बजार हो दरबारमार्ग । नारायणहिटी दरबार (सङ्ग्रहालय) को मुख्य प्रवेशद्वारअगाडि सिधा देखिने यो बजार स्थापनाको दृष्टिकोणले कान्छो भए पनि आमउपभोक्तामाझ चर्चित एवं लोकप्रिय छ । यहाँ पाइने सामान गुणस्तरीय (ब्रान्डेड), टिकाउ, मूल्यवान् हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यही भएर दरबारमार्ग क्षेत्रबाट सामान खरिद वा खानपानलाई प्रतिष्ठा ठान्ने चलन छ । दरबारको मूलढोकादेखि महेन्द्र सालिकसम्म करिब तीन सय मिटर लम्बाइमा रहेको दरबारमार्गको दायाँबायाँ पसल, तारे होटेल, रेस्टुरेन्ट, क्याफे, मदिरा तथा ज्वेलरी पसल, डिस्को क्लबलगायत व्यवसाय सञ्चालनमा रहेका देखिन्छन् । 

तारे होटेल र ब्रान्डेड सामान पाइने भएकै कारण पनि स्वदेशीभन्दा विदेशी ग्राहकको चहलपहल बाक्लो हुन्छ । यतिबेला दरबारमार्ग बजार झनै चर्चामा छ, कारण हो त्यहाँको फुटपाथमा ग्रेनाइट । फुटपाथको इँटा तथा ढुङ्गा हटाई काठमाडौँ महानगरपालिकाले ग्रेनाइट बिछ्याउन थालेको छ । यो कार्यले दरबारमार्ग बजारलाई थप आकर्षित बनाउने विश्वास महानगरको छ । 

दरबारमार्गका पाका पर्यटन व्यवसायी गोपाल कक्षपतिका अनुसार सन् १९६१ मा विदेशी आर्किटेक, इन्जिनियरसँगको सहकार्यमा शङ्करनाथ रिमालले दरबारमार्ग सडक निर्माणको रूपरेखा कोरेका थिए । त्यही रूपरेखा अनुसार दरबारको मूलढोकादेखि महेन्द्र सालिकसम्म सडक सिधा र फराकिलो पारेर बजार बसाइयो । तत्कालीन युवराज वीरेन्द्रको राज्याभिषेकपछि दरबारमार्ग बजारले व्यवस्थित रूप धारण गरेको भनाइ उनको छ । जीवनको करिब आधा शताब्दी रेस्टुरेन्ट व्यवसायमा बिताएका कक्षपति सुरुमा ट्राभल एजेन्सी, ह्यान्डिक्राफ्ट (क्युरियो) र एयरलाइन्सका कार्यालय मात्र सञ्चालनमा रहेको स्मरण गर्छन् । 

होटेल अन्नपूर्ण, नाङ्लो क्याफे (रेस्टुरेन्ट), याक एन्ड यति होटेल, होटेल शेर्पाको स्थापनापछि दरबारमार्गले मूर्त रूप लियो । अनि खर्चिला पर्यटक वसन्तपुरको झोँछे र ठमेल छोडेर दरबारमार्गमा बास बस्न तथा रमाउन आउन थाले । पर्यटकको चहलपहल बाक्लिन थालेपछि गठन भएको दरबारमार्ग वातावरण संरक्षण समितिले सडक किनारामा वृक्षरोपण गरी हरियाली, फुटपाथ, सरसफाइ, सुरक्षा व्यवस्था, पार्किङ, ढल, सडक बत्ती र रेलिङ बनाएको थियो । 

त्यसअघि पनि दरबारमार्ग क्लब गठन भएको थियो तर अपेक्षा अनुरूप काम हुन सकेन । त्यसपछि बनेको वातावरण संरक्षण समिति र दरबारमार्ग विकास बोर्डले बजारलाई व्यवस्थित, सुरक्षित र हरियाली बनाएको थियो ।

पर्यटन व्यवसायी कक्षपतिको भनाइमा फोहोरादरबार, सेतोदरबार र लालदरबार तीन वटा दरबारको मध्यमा रहेको आकर्षक बगैँचालाई मासेर दरबारमार्ग बनाइएको थियो । राजपरिवारको निमन्त्रणामा नेपाल घुम्न आउने विदेशी पाहुनालाई यहाँको चिनो किन्न न्युरोड, वसन्तपुर पुग्नुपर्ने बाध्यता थियो । दरबारमार्ग बजार बनेपछि सुरुमा नेपाली हस्तकलाका सामान पाउने पसल खुलेका थिए । 

असन, इन्द्रचोक, न्युरोड, ठमेल, भोटाहिटी, पुतलीसडक, वसन्तपुर, झोँछे, खिचापोखरी, बागबजारलगायतका क्षेत्रमा लुगाफाटो र खाद्यान्न पसल थिए तर विदेशी ग्राहकलक्षित बजारको अभाव थियो । त्यो अभाव दरबारमार्गले पूरा ग¥यो । त्योबेला नै न्युरोडभन्दा फराकिलो कालोपत्रे सडक र दुईतिर फराकिलो फुटपाथ, लहरै दुई तलासम्मको भवन दरबारमार्ग बजारको मुख्य विशेषता थियो । स्टार होटेलमा बस्ने, रेस्टुरेन्टमा खाने र डिस्को क्लबमा रमाउनेका लागि यो नयाँ गन्तव्य बन्यो । 

नारायणहिटी दरबारभन्दा अग्लो घर बनाउन नपाउने तत्कालीन व्यवस्था अनुरूप अगाडिको भागमा ४०/५० फिट अग्ला घर बनाइएका थिए । दरबार आसपासको क्षेत्रमा अग्ला घर तथा भवन बनाउनु २०६२/६३ सालअघि एक किसिमको निषेध जस्तै थियो । कतिपयले बेलायतको बकिङ्घम दरबारको सिको गर्दै नारायणहिटी अगाडि ‘किङ्ग्स–वे’ निर्माण गरिएको र त्यसपछि बजार विस्तार भएको बताएका छन् । 

कामनपा–१ का प्रशासकीय अधिकारी सर्वज्ञराज पौडेल दरबारमार्ग क्षेत्रको सडक र बजार तत्कालीन राजाले नै योजनाबद्ध ढङ्गले निर्माण गरेकाले व्यवस्थित र आकर्षक देखिएको बताउँछन् । दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका घडी, लुगाफाटो, जुत्ता, खानाका परिकार र गरगहनालगायत हस्तकलाका सामग्री खरिद गर्न सकिन्छ । इच्छाएको परिकार खान, रात्रिकालीन मनोरञ्जनका डिस्को क्लब, दोहोरी, लाइभ म्युजिकसहितका रेस्टुरेन्ट यहाँ सञ्चालनमा छन् । 

विदेशी ब्रान्डका सामान उत्पादक कम्पनीले नै पसल सञ्चालनका लागि दरबारमार्ग खोज्ने भएकाले पनि यो सबैको रोजाइमा परेको भन्न सकिन्छ । वर्तमान समयमा थकाइ मार्नेदेखि ब्रान्डेड सामान खरिद गर्न चाहनेका लागि दरबारमार्ग आकर्षण बनेको छ । 

केही पहिलेसम्म सडकको एक लाइनमा पार्किङ हुँदा ग्राहकको भिड मात्र बढेको थिएन, व्यापार पनि फस्टाएको थियो । अहिले चहलपहल घटेको छ, बजार पनि सुस्ताएको छ, व्यवसायी यज्ञ पाण्डे भन्छन् । अन्नपूर्ण होटेल भएको स्थानमा अन्डरग्राउन्ड पार्किङसहितको तारे होटेल र सपिङ मल बन्ने योजनाले दरबारमार्ग पुनः जीवन्त हुने आशा पलाएको छ । 

–देवबहादुर कुँवर   

–युवामञ्च