• १० जेठ २०८२, शनिबार

पन्चैबाजा संरक्षणमा आमा समूह

blog

गुल्मी समाचारदाता

गुल्मी, जेठ १० गते । एक समय थियो, जतिबेला महिलाहरू चुलो र चौकोमा मात्रै सीमित थिए तर समयको परिवर्तनसँगै अहिले महिलाहरू चुलो र चौकोबाट माथि उठेर सिप आर्जनसँगै आयआर्जनमा जोडिँदै जान थालेका छन् । यसैको उदाहरण बनेको छ, गुल्मीदरबार गाउँपालिका–३, राजामा अवस्थित देवीस्थान महिला पन्चैबाजा आमा समूह । समूहमा जोडिएका महिलाले पन्चैबाजा बजाउन अग्रसर भएका छन् । पन्चैबाजा बजाउनका लागि सुरुमा सिप र ज्ञान थिएन तर गाउँपालिकाले १५ दिने पन्चैबाजा बजाउने तालिम दिएपछि उनीहरूलाई सहज भएको हो । 

समूहकी अध्यक्ष गङ्गा खासुले अहिले जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रममा आफूहरू पन्चैबाजा बजाउन पुग्ने गरेको बताउनुभयो । पन्चैबाजा बजाउन सिकेपछि अहिले आर्थिक रूपमा पनि केही सहज बन्दै गएको छ, उहाँले भन्नुभयो, “तालिमबाट सिकेको सिपले अहिले आफूहरूको खोजी हुन थालेको छ ।” उहाँले अहिले गाउँसहरमा पूजाआजा, विवाहमा समेत आफूहरू पन्चैबाजा बजाउन पुग्ने गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले महिला समूहलाई संस्कृति झल्कने आफ्ना परम्पराको जगेर्ना गर्न तालिम प्रदान गर्नुका साथै पन्चैबाजा तालिमबाट उनीहरूको आयआर्जनमा पनि सहयोग पुग्ने गरेको प्रति खुसी व्यक्त गर्नुभयो । समूहलाई पन्चैबाजा बजाउन सहज होस् भनेर १५ दिनको पन्चैबाजा बजाउने तालिम प्रदान गरिएको थियो । उहाँले यसका साथै वाद्यवादनका सामग्री र पोसाकसमेत उपलब्ध गराएर प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले आफ्नो संस्कृति, परम्परा झल्कने आफ्नो गाउँठाउँको विभिन्न किसिमका कार्यक्रममा समावेश भएर लोकसंस्कृति झल्काउने गरी कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो । 

“विभिन्न टोलमा पनि हामीले यस्ता कार्यक्रम राख्न खोजेका थियौँ । यीबाहेक कतिपय महिला यसरी पन्चैबाजाको कार्यक्रम गरेर गुल्मीदरबार गाउँपालिकाभन्दा बाहिरका क्षेत्रमा पनि यो कार्यक्रम लिएर जाने गर्नुहुन्छ,” अध्यक्ष थापाले भन्नुभयो, “यसले उहाँहरूको आर्थिक पाटो पनि बलियो बन्दै गएको छ ।”