• ९ जेठ २०८२, शुक्रबार

कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग

blog

भवानी दत्त भट्ट

कञ्चनपुर, जेठ ९ गते । कञ्चनपुरमा कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा योजना सञ्चालनमा चुनौती थपिएको भन्दै सरोकारवाला निकायले कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग गर्नुभएको छ । कृषिको यकिन तथ्याङ्क उपलब्ध भए आगामी वर्षका लागी कृषिका कार्यक्रम सञ्चालनमा सहजता हुने भन्दै कृषि सँग सम्बन्धित सरोकारवाला निकायले कृषि क्षेत्रको वास्तविक तथ्याङ्क उपलब्ध गराउन पालिका प्रमुखहरू सँग माग गरेका हुन् । 

बिहीबार महेन्द्रनगरमा कृषि ज्ञान केन्द्र कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको कृषि तथ्याङ्क अद्यावधिकका लागि कृषि सर्वेक्षण सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित विभिन्न पालिका प्रमुखहरू सँग छलफल गरिएको कार्यक्रमका अध्यक्ष कृषि व्यवसाय पर्वद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । 

भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले आगामी आर्थिक वर्षमा मासु निर्यात, खोप, बजारीकरण, दूध ढुवानीका लागी सवारी साधन, एक पालिका एक कार्यक्रम लगायतका कार्यक्रमहरू जिल्लामा सञ्चालन गरिने बताउनुभयो । जसका लागी कृषिको यकिन तथ्याङ्क सङ्कलनका लागी सरोकारवाला निकायहरू सँग छलफल गरिएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अनुदानका नाममा वास्तविक कृषकलाई वञ्चित नगरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले कृर्षि क्षेत्रको विकास लागि आवश्यक पर्ने वास्तविक तथ्याङ्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । बेदकोट नगरपालिकाका मेयर बोहराले ज्ञान केन्द्रबाट अनुदान आए झन् सहज हुने बताउनुहुँदै नगरपालिकाले भने कृषकहरूलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो ।  

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषि उत्पादकत्व बढाउन नहर तथा सिचाई क्षेत्र थप व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । हाल जिल्लामा कृषकहरूको यकिन तथ्याङ्क नहुँदा वास्तविक कृषकहरू अनुदानबाट वञ्चित हुँदै आएका छन् । 

कृषि उपाकत्व बढाउन सके कृषकहरूले स्वदेशमै मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषिको यकिन तथ्याङ्क सङ्कलन गरी आगामी वर्षमा कृषकहरूलाई आवश्यक अनुदान उपलब्ध गराइनुपर्ने कार्यक्रममा सहभागीहरूले माग गर्नुभएको छ ।