• ९ जेठ २०८२, शुक्रबार

डोलामा चढेर मुक्तिनाथ दर्शन

blog

डोलामा चढेर मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाँदै भक्तजन । तस्बिर : प्रदीप पन्त

ढोरपाटन समाचारदाता 

बागलुङ, जेठ ९ गते । समुद्री सतहदेखि ३७१० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजासंगै दर्शन गर्न दैनिक हजारौँ भक्तजन पुग्ने गर्दछन् । हिमाली जिल्लामा रहेको मुक्तिनाथ मन्दिरमा नेपाली तथा भारतीय भक्तजनको भिड हुने गर्दछ । 

भारतबाट एक हप्ता लगाएर पूजा गर्नकै लागि यहाँ आउने गरेका छन् । पोखरा हुँदै पर्वत, म्याग्दी र मुक्तिनाथको जोमसोममा गएर बस्ने र भोलिपल्ट मुक्तिनाथ दर्शन गर्ने योजनासहित भक्तजन यहाँ पुग्ने गर्दछन् । मुक्तिनाथ मन्दिरमा पुग्न जोमसोमबाट यातायातका साधनमा रानीपौवासम्म एक घण्टामा पुगिन्छ । कागबेनीदेखि मुक्तिनाथ मन्दिर तल रानीपौवासम्म सडक कालोपत्रे भएको छ । जोमसोमबाट मुक्तिनाथ मन्दिर २० 

किलोमिटर टाढा रहेको छ । 

रानीपौवाबाट मुक्तिनाथ मन्दिरमा पुग्न झन्डै ४५ मिनेट पैदल उकालो हिँडनुपर्ने हुन्छ । उकालो १५० सिँढी चढ्न नसक्ने र लेक लाग्ने डरले मानिसमा मन्दिरमा पुग्न केही कठिनाइ हुने गरेको छ । पैदल हिँड्न नसक्ने, शारीरिक रूपले अशक्त र ज्येष्ठ नागरिकलाई रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्म डोलामा बोकेर लैजाने र ल्याउने गरी सेवासमेत सञ्चालन गर्दै आएका छन् । रानीपौवादेखि उकालो रहेको मन्दिरमा पुग्न भक्तजनलाई स्थानीयले डोलाको व्यवस्था गरेका छन् । डोलासँंगै घोडाको पनि व्यवस्था गरिएको छ । 

भारतलगायत अन्य देशबाट आएका भक्तजन घोडामा बस्न नसक्ने, घोडा चढ्दा लडेर दुर्घटना भई घाइते हुने भए पनि स्थानीयले दुई वर्षदेखि डोलाको व्यवस्थापन गर्दै आएका छन् । रानीपौवादेखि मन्दिरमा हिँडेर पुग्न नसक्नेका लागि डोलाको व्यवस्था स्थानीय रूपमा हुँदै आएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अध्यक्ष प्रेमश गुरुङले बताउनुभयो । मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउन सात वर्षदेखि घोडा र दुई वर्षदेखि डोलाको व्यवस्था हुँदै आएको उहाँले बताउनुभयो । 

चार जना मानिसले बोकेको डोलामा चढेर भक्तजन मन्दिर प्राङ्गणमा पुग्ने गरेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित रानीपौवाका स्थानीय मुखियामार्फत समिति गठन गरी सञ्चालनमा ल्याएको डोली व्यवसाय अहिले भक्तजनको रोजाइमा पर्ने गरेको छ । यसबाट झन्डै एक सयभन्दा बढी युवाले रोजगारी पाएका छन् । मन्दिर दर्शन गर्न जाने क्रममा उकालो भएपछि जान कठिन भएकाले डोलामा चढेर आवतजावत गरेको भारतबाट आएका भक्तजन सोनी पटेलले बताउनुभयो । पटेलले भन्नुभयो, “घोडामा चढ्दा लडेर घाइते हुने जस्तो देखिएपछि चार जनाले बोकेको डोलामा चढेर पूजा गर्न जाँदा र आउँदा भने सहज र सजिलो भयो ।” 

मुक्तिनाथ मन्दिर दर्शन तथा पूजाआजा गर्न आउने तीर्थालु भक्तजनलाई डोलीमा बोकेर लाँदा भारतीय नागरिकलाई चार हजार र नेपालीलाई पाँच हजार रुपियाँ लिने गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अस्थायी रूपमा डोला र घोडाका माध्यमबाट भक्तजन आउने जाने गरी व्यवस्था गरिएको छ ।” 

मुक्तिनाथ मन्दिरमा पूजा तथा दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वासका साथ भक्तजन आउने गर्दछन् । मुक्तिनाथ मन्दिर स्थलमा ढुङ्गाले बनाएको गाईको मुखका १०८ वटा धाराबाट पवित्र जल बग्ने गरेको छ । त्यही जल बगेर मन्दिरअगाडि दुई वटा पोखरी बनेका छन् । मुक्तिनाथमा बर्सेनि लाखौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने गर्दछन् ।