• ९ जेठ २०८२, शुक्रबार

मानव–वन्यजन्तु द्वन्द्व

पाँच वर्षमा त्रिसट्ठी जनाको मृत्यु

blog

मानव–वन्यजन्तु द्वन्द्व सरोकारवालासंग छलफल गर्दैं ।

बबई समाचारदाता 

बबई (बर्दिया), जेठ ९ गते । गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ मा मामाघर आएकी नौ वर्षीय बालिका मेलिना खड्काको सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणमा परी मृत्यु भयो । 

साथीसँगै घाँसदाउरा गर्न सर्जु सामुदायिक वन पुगेकी मेलिनाको मृत्युसँगै बर्दियामा विगत पाँच वर्षमा मानव–वन्यजन्तु द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वन क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा संरक्षणकर्मीसमेत चिन्तित भएका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्ममा ४२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट २८ जना, चितुवाको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट आठ जना र गैँडाको आक्रमणमा पाँच जनाले ज्यान गुमाएका छन् भने डिभिजन वन कार्यालय बर्दिया अन्तर्गतको सामुदायिक वन क्षेत्रमा २१ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बाघको आक्रमणमा ११ जना, हात्तीको आक्रमणमा चार जना, चितुवाको आक्रमणमा पाँच जना र गैँडाको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

विश्वमा नै बाघ संरक्षणको अभियान चलिरहँदा आव २०७८/७९ को गणना अनुसार बर्दियामा बाघको सङ्ख्या झन्डै तेब्बर पुगेको देखिन्छ भने बर्दियामा बाघको आक्रमणमा परी सबैभन्दा बढी ३० जनाले ज्यान गुमाएका छन् । मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जानुको मुख्य कारण वन्यजन्तुको आहारामा कमी, मानिस वन क्षेत्रमा निर्बाध प्रवेश गर्नु, वन क्षेत्रमा सडक पूर्वाधार विकास देखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले वन क्षेत्रमा हुने विकास निर्माणसँगै मानिस वनमा प्रवेश गर्नाले मानव र वन्यजन्तुको द्वन्द्व बढेको बताउनुभयो । बर्दिया निकुञ्जसँगै पछिल्लो समय सहरबजार क्षेत्रमा पनि वन्यजन्तुको आक्रमण बढ्दै जान थालेको छ । सामुदायिक वन क्षेत्रसँग जोडिएको बजार क्षेत्रमा चितुवाको आक्रमण बढी हुने गरेको देखिन्छ । 

वन क्षेत्रमा मानिस घाँसदाउरा काट्न जाँदा, वनसँगै रहेको खेतबारीमा काम गर्न जाँदा र सडकमा हिँडडुल गर्दासमेत वन्यजन्तुको आक्रमणमा पर्न थालेका छन् । भृकुटी महिला सामुदायिक वनका अध्यक्ष शान्ता ज्ञवालीले बजार क्षेत्रमा भएका सामुदायिक वनमा पनि चितुवाले आक्रमण गर्ने गरेको बताउनुभयो । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले मानिस सकेसम्म वन क्षेत्रमा प्रवेश नगर्ने तर गर्नै परेमा समूहमा वन क्षेत्रमा गएमा वन्यजन्तुको आक्रमण नहुने बताउनुभयो ।