लीलाधर वली
घोराही, जेठ ८ गते । दाङमा चालु आर्थिक वर्ष २०८१/०८२ को दश महिनामा सङ्घीय सरकारअन्तर्गतको विकास बजेट ३५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म कुल पुँजीगत बजेट चार अर्ब ५० करोड ३० लाख ४७ हजार रुपियाँमध्ये ३५ प्रतिशत अर्थात एक अर्ब ६१ करोड १७ लाख ५१ हजार पाँच सय ५८ रुपियाँ खर्च भएको हो ।
चालु बजेटतर्फ २४ अर्ब ४० करोड दस लाख ६४ हजार छ सय ७३ रुपियाँमध्ये ८६ दशमलव ५२ प्रतिशत अर्थात् २१ अर्ब ११ करोड २२ लाख ९३ हजार चार सय ५३ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख कोष नियन्त्रक मोहनप्रसाद जैसवालले जानकारी दिनुभएको छ ।
प्रमुख कोष नियन्त्रक जैशवालका अनुसार जिल्लामा हालसम्म सवैभन्दा बढी बजेट खर्च गर्ने कार्यालयमा प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजना रहेको छ । उक्त आयोजनाले कुल बजेटको ८७ दशमलव ४४ प्रतिशत खर्च गरेको छ । जसमा पुँजीगत २४ करोड २९ लाख रुपियाँमध्ये २१ करोड २४ लाख १२ हजार र चालुतर्फ एक करोड ५१ लाखमध्ये एक करोड आठ लाख ४६ हजार खर्च गरेको छ ।
बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले ५८ दशमलव १६ प्रतिशत बजेट खर्च गरेको छ । जसमा आयोजनाले ४६ करोड ३२ लाख ३५ हजार पुँजीगत बजेटमध्ये २६ करोड ९४ लाख ४६ हजार र चालुतर्फको एक करोड ४० लाख १९ हजार बजेटमध्ये एक करोड दुई लाख ७४ हजार खर्च गरेको छ । सडक डिभिजन कार्यालयले ४६ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । प्रमुख कोष नियन्त्रक जैशवालका अनुसार ७६ करोड ६२ लाख ६७ हजार पुँजीगत बजेटमध्ये सडक डिभिजन कार्यालयले हालसम्म ३५ करोड ५० लाख ९२ हजार र चालुतर्फ एक करोड ९७ लाख ९६ हजारमध्ये एक करोड ५२ लाख ४२ हजार खर्च गरेको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना घोराहीले २९ दशमलव ८४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । आयोजनाले पुँजीगततर्फ बिनियोजन भएको एक अर्व ४६ करोड एक लाखमध्ये ४३ करोड ५८ लाख २२ हजार र चालुतर्फ एक करोड ४२ लाख बजेटमध्ये ९३ लाख ८६ हजार खर्च भएको छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले कुल बजेटको १८ दशमलव ७७ प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगततर्फको एक अर्ब ६ करोड ६८ लाख बजेटमध्ये २० करोड तीन लाख र चालु बजेटतर्फ एक करोड ४९ लाख ४२ हजारमध्ये ९० लाख ४१ हजार खर्च भएको छ ।
त्यसैगरी जिल्लामा प्रदेश सरकारको विकास बजेट ४८.८७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ दुई अर्ब ३१ करोड ६८ लाख ११ हजार बजेट रहेको थियो । चालुतर्फ ६०.४१ प्रतिशत खर्च भएको छ । चालुतर्फ ७२ करोड ३८ लाख २९ हजार बजेट रहेको थियो । प्रदेश सरकारको तर्फ हालसम्म ४३ करोड ७२ लाख ९८ हजार खर्च भएको छ ।
प्रमुख कोष नियन्त्रक जैशवालका अनुसार प्रदेशतर्फ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराहीले सबैभन्दा बढी ६१.०४ प्रतिशत खर्च गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पुँजीगततर्फ रहेको २५ करोड ३६ लाखमध्ये १५ करोड ४८ लाख र चालुतर्फ रहेको एक करोड २६ लाखमध्ये ९२ लाख ७६ हजार खर्च गरेको छ । सहरी विकास तथा भवन कार्यालय कुल बजेटको ५०.६६ प्रतिशत बजेट खर्च गरेको छ । जसमा ५९ करोड १४ लाख पुँजीगत बजेटमध्ये ३० करोड १२ लाख अर्थात् ८४.४९ प्रतिशत र चालुतर्फ रहेको एक करोड नौ लाखमध्ये ७१ लाख खर्च गरेको छ । सडक पूर्वाधार विकास कार्यालयले ४५.१५ प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगततर्फ रहेको ८७ करोड ६० लाखमध्ये दस महिनामा ३९ करोड ५५ लाख खर्च गरेको छ ।
जलाधार व्यवस्थापन कार्यालयले ३७.३८ प्रतिशत खर्च गरेको छ । जसमा पुँजीगततर्फ रहेको आठ करोड ९२ लाख बजेटमध्ये ३ करोड ३३ लाख र चालुतर्फ ९३ लाख ९० हजारमध्ये ६१ लाख रुपियाँ खर्च भएको छ । प्रदेशअन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ४४.४० प्रतिशत मात्र बजेट खर्च गरेको छ । कार्यालयले पुँजीतर्फ रहेको ३३ करोड सात लाख बजेटमा १७ करोड ६८ लाख र चालुतर्फ रहेको एक करोड ५१ लाखमध्ये एक करोड ११ लाख खर्च गर्न सफल भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।