• ८ जेठ २०८२, बिहिबार

‘मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’

blog

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ८ गते । नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएकका छन् । बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो ।

मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका एक हजार ६ सय दुई वटा घटना भएका छन् । त्यस्तै पहिरोका दुई हजार आठ सय ४०, भारी वर्षाका एक हजार पाँच सय ९७, चट्याङका घटनाहरू पनि बढेर गएको बताउनुभयो ।

विगत १० वर्षमा चट्याङका दुई हजार चार सय घटना रहेको जानकारी दिनुभयो । यस वर्ष गत वर्षभन्दा बढी पानी पर्ने र तातो पनि सरदरभन्दा बढी हुने बताउनुभयो । यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताउनुभयो ।

उहाँले मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि जानकारी दिनुभयो । सबै काम सङ्घबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘१० वर्षमा विपद्जन्य घटनाहरू हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरू धेरै छन् । बाढीका एक हजार ६ सय दुई, पहिरोका दुई हजार ८ सय ४०, भारी वर्षाका एक हजार पाँच सय ९७, चट्याङका घटनाहरू पनि बढेर गएको छ । दुई हजार चार सय छन् ।  ८ हजार चार सय ४१ घटनाहरु मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’’ उहाँले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गर्नुभयो ।