आधुनिक अर्थतन्त्रमा केन्द्रीय बैङ्कको भूमिका बहुआयामिक हुन्छ । सरकारको आर्थिक सल्लाहकारको संस्थागत भूमिकासँगै मौद्रिक उपकरणमार्फत देशको समग्र आर्थिक स्थायित्व कायम गर्नु केन्द्रीय बैङ्कको मुख्य दायित्व हुन जान्छ । मौद्रिक उपकरणमा तलबितल पर्दा आमनागरिकको आर्थिक जीवनमा ठुलो फेरबदल आउँछ । कहिलेकाहीँ त कष्टसाध्यसमेत भोग्नुपर्ने हुन्छ । यति मात्र होइन, अर्थतन्त्रमा मूलभूत पक्ष लगानी, आय, उत्पादन, रोजगारीलगायतका सबै क्षेत्रमा प्रतिकूल प्रभाव पर्न सक्छ । केन्द्रीय बैङ्कको नेतृत्वले अर्थतन्त्रमा सबै आयामको तत्कालीन र दीर्घकालीन गहनता बुझेर उपयुक्त नीति तथा रणनीति अख्यितार गर्दा अर्थतन्त्रले गतिशील स्थायित्व हासिल गर्ने छ । नागरिक जीवन सुविस्तातर्फ अग्रसर हुने छ ।
विश्वभर नै अर्थतन्त्रका समकालीन अवयव संवदेनशील छन् । नेपाल जस्तो विकासशील मुलुक पनि अछुतो छैन । देशीय अर्थतन्त्रका बाह्य सूचक उत्साहजनक हुँदाहुँदै पनि समग्र अर्थतन्त्र भने चाहेको दिशामा गतिशील हुन कठिन भएको छ । बैङ्क तथा वित्तीय संस्थामा तरलता थुप्रिएको छ । कर्जा ब्याजदर तल्लो विन्दुमा भएर पनि लगानीमा उत्साह छाउन सकेको छैन । आन्तरिक बजार माग पूरा गर्न आयातित अंश बढेर गएको छ । आयात प्रतिस्थापन गर्न सक्ने वस्तु तथा सेवामा पनि बाह्य निर्भरता छ । यस्तो बेला नेपाल राष्ट्र बैङ्कले केन्द्रीय बैङ्कका रूपमा गहन भूमिका निर्वाह गर्नुपर्ने चुनौतीका पहाडै छन् । दुई महिनाअघि नै केन्द्रीय बैङ्कमा नयाँ नेतृत्व दिने सरकारको भगीरथ प्रयासमा केही अलमल हुन गयो । ढिला भए पनि केन्द्रीय बैङ्कले नयाँ नेतृत्व पाएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले मङ्गलबार नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णयसँगै अनेक विमर्श आरम्भ भएको छ । तथापि अर्थतन्त्रका निम्ति संयोग भन्नु पर्छ, प्रतिष्ठित विश्वविद्यालयबाट दीक्षित, अन्तर्राष्ट्रिय सङ्घ संस्थाको कार्यानुभव अनि देशको नीति निर्माणको नेतृत्वदायी भूमिका बसेर काम गरिसक्नुभएका कुशल अर्थशास्त्रीलाई केन्द्रीय बैङ्कले नेतृत्व पाएको छ । समग्र अर्थतन्त्र र खास गरी केन्द्रीय बैङ्कसमेतले सामना गर्नुपर्ने केही गहन समस्यासमेत सामुन्नेमा छन् । देशले नचाहेर पनि एफटिएफको ग्रे लिस्टमा छ, त्यसबाट छिटो छुटकारा पाउनुपर्ने छ । बैङ्क तथा वित्तीय संस्थामा छ खर्ब रुपियाँभन्दा बढी तरलता लगानी हुन नसकी बसेको छ । निक्षेपको ब्याजदर तल्लोविन्दुमा झर्दा आगामी दिनमा बचतमा सङ्कट उत्पन्न हुने जोखिम छ ।
यो तरलता परिचालनको निकास अविलम्ब निकाल्दै जानुपर्ने छ । आर्थिक वृद्धिदरलाई सहयोग हुने र पुँजी पलायन रोक्न सक्ने ब्याजदरतर्फ स्थायित्व दिँदै जानुपर्ने चुनौती छ । त्यसै गरी सरकार र अर्थ मन्त्रालयबिचमा कतिपय अवस्थामा आउने अविश्वासलाई नीतिगत र संस्थागत सम्बन्ध तथा सुस्थायित्वको वातावरणसमेत बनाउनु छ । त्यसै गरी निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्दै लगानीमैत्री वातावरणको निर्माण गरी अर्थतन्त्रलाई चलायमान बनाउनु छ । यी र यस्तै चुनौतीको सामुन्ने केन्द्रीय बैङ्कले नयाँ नेतृत्वको पाएको यथार्थ स्वाभाविक समीक्षाका विषय हुन् ।
कुनै पनि चुनौती वास्तवमा समस्या पनि हुन् । अनुसन्धाताहरू समाधान हुन नसक्ने समस्यालाई चुनौती मान्दैनन् । बरु चुनौतीको पहाड छिचोलेपछि अवसरको मैदानमा पुग्न सक्ने देख्छन् । चुनौतीको सामनाबाट अनन्त सम्भावनाको मार्ग खुल्ने छ । सरकारको वित्तीय नीतिलाई मौद्रिक नीति तथा उपकरणमार्फत अर्थतन्त्रका समकालीन चुनौती समाधान गर्दै जानु गभर्नर पौडेलको प्राथमिकतामा निश्चय नै कुनै सुस्तता आउने छैन । बैङ्क तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय अर्थात् बैङ्कहरूको पनि बैङ्क भनिने केन्द्रीय बैङ्कले नियमनमा निर्मम हुनै पर्छ । खुला र लगानीमैत्री अर्थतन्त्रतर्फ अग्रसर हुन बैङ्क तथा वित्तीय संस्था भरसक त स्वनियमनको अभ्यासले सुरक्षित गन्तव्य माग गर्छ । चाँडो मुनाफाको लोभ वा अन्य कारणले कतिपय प्रवृत्तिले तलमाथि गर्दा अर्थतन्त्र नै धराशायी हुने अवस्था आउँछ ।
त्यसैले केन्द्रीय बैङ्कको विधिसम्मत नियमन स्वस्थ अर्थतन्त्रको कार्यकारक बन्न जान्छ । केन्द्रीय बैङ्कको स्वायत्तताको धर्म निर्वाहसमेत कतिपय अवस्थामा धर्मराएको विगतबाट नयाँ नेतृत्व सामुन्ने पाठ लिने धेरै पक्ष छन् । बौद्धिक जनशक्तिको ससानो विश्वविद्यालय नै भएको केन्द्रीय बैङ्कले नेतृत्वको दूरदृष्टि र निर्णय क्षमताबाट अर्थतन्त्रका अपार सम्भावनाले कार्य रूप दिँदै जाने छ । अर्थतन्त्रका तीन वटै अर्थात् कृषि, उद्योग र सेवा क्षेत्रको अपार सम्भावनालाई सन्तुलन मिलाएर चुनौती चिर्दै अर्थतन्त्रमा अवसर सिर्जना गर्ने सुस्पष्ट कार्यदिशामै नेतृत्वको सफलता निर्भर हुने छ । केन्द्रीय बैङ्कको नयाँ नेतृत्वलाई सफलताको हार्दिक शुभकामना ।