• ८ जेठ २०८२, बिहिबार

खाद्यान्नमा आत्मनिर्भर बन्दै मधेश प्रदेश

blog

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार बर्दिबासमा आयोजना गरेको अन्तक्रिया कार्यक्रम उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सतीशकुमार सिंह। तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ ७ गते। मुख्यमन्त्री सतीशकुमार सिंहले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर मुलुकलाई खाद्यान्नलाई आत्मनिर्भर बनाउने दिशामा मधेश सरकार गृहकार्यमा जुटेको बताउनु भएको छ। उहाँले स्वदेशमै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीको निर्भरता कम गर्ने रोडम्याप अनुसार निर्वाहमुखी कृषि उपजलाई आयआर्जनसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। 

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार बर्दिबासबासमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको योजना तर्जुमा’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो धारणा राख्नु भएको हो। 

मधेश प्रदेशको कृषि मन्त्रालयले ‘मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउने’ मिसनलाई अघि बढाएको सन्दर्भलाई जोड्नुहुँदै मुख्यमन्त्रीले विगतमा विदेशी मुलुकमा अन्न निर्यात गरेको इतिहास बोकेको मधेशको कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुभयो। 

उहाँले कृषिको उत्पादन लागत बढीरहेकोले किसानलाई फाइदा हुने मेकानिजम बनाएर अघि बढनुको विकल्प नभएको धारणा राख्नुभयो। 

आयोजक मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेशलाई कृषि हवको रुपमा विकास गरेर ‘फिड द नेसन’ को सपना सकार पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो। 

अन्तरक्रियामा प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव, भरतप्रसाद साह, रामअशिष यादव, जैनुल राइन, जिवछी कुमारी यादवले धारणा राख्नुभयो। 

अन्तरक्रियामा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दहालले प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था, सम्भाव्यता तथा भावी रणनीति प्रस्तुत गर्दै मधेशमा खाद्य सुरक्षाको अवस्था क्रमिक सुधार हुँदै गएको बताउनुभयो।

मधेश प्रदेश कृषि निर्देशक जितेन्द्र यादवले कृषि उत्पादनका लागि राजनीतिक प्रतिवद्धतासहित ठोस नीति तथा कार्यक्रम पनि अपरिहार्य रहेको मन्तव्य राख्नुभयो।

कार्यक्रमको पूवाद्र्धमा खाद्य प्रणाली विशेषज्ञ डा. राजेन्द्र उप्रेती, कृषि तथा पशुपंक्षी मन्त्रालयका विज्ञ डा. मणिरत्न अर्याल, पशुपन्छी तथा मत्स्य विकाश निर्देशक जागेश्वर यादवले मेधेश प्रदेशका कृषि क्षेत्रका सम्भावना, चुनौती र भविष्यका बारे प्रस्तुतिकरण गर्नु भएको थियो।