यदुप्रसाद भट्ट
मनाङ, जेठ ७ गते । मनाङका चारवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेपछि हालै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । २०७३ साल चैत २५ गते मनाङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र हालका दिनसम्म उक्त कार्यलाई निरन्तरता दिई पूर्ण खोप सुनिश्चित गरी दिगोपना कायम राख्ने कुरामा सम्पूर्ण सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत वैशाख ३१ गते चारवटै पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुन्नाले जानकारी दिनुभयो । प्रमुख ठगुन्नाले नासोँ गाउँपालिका वैशाख १२ गते, मनाङ ङिस्याङ गाउँपालिका वैशाख २२ गते, नार्पाभूमि गाउँपालिका वैशाख २४ र चामे गाउँपालिका वैशाख २६ गते पूर्ण खोप सुनिश्चित भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार १६ देखि २३ महिनासम्मको वा १६ देखि ५९ महिनासम्मको बालबालिकाले १५ महिनासम्म पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरेर मात्रै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । मनाङको हकमा सबै बच्चाले खोप पाएको, कुनै पनि बालबालिका नछुटेको, सबैले खोप पाएको सुनिश्चित भएपछि मात्रै यो घोषणा गरिन्छ । प्रमुख ठगुन्नाले यो आर्थिक वर्षमा १६ देखि ५९ महिनासम्मका १५० बालबालिकाले पूर्ण खोप प्राप्त गरेको बताउनुभयो ।
‘‘१५ महिनामा दादुरा र रुबेलाको खोप लगाइसकेपछि मात्रै पूर्ण खोप हुने हो’’, प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘‘पहिला सबै घरधुरी सर्बे गरिन्छ, अनि ती घरमा बच्चाहरू छुटेका छन् कि छैनन् भनी पहिला वडाले प्रमाणीकरण गर्छ त्यसपछि पालिका हुँदै अन्तिममा मात्र जिल्लाले गर्छ ।’’
गत वैशाख ३१ गते चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेको अध्यक्षता तथा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यतामा मनाङ जिल्ला पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे तथा मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुखहरू, नासोँ तथा नार्पाभूमि गापाका प्रमुख प्रशासकीय अधिकृतहरू, गाउँपालिकाका उपाध्यक्षहरू, जिल्ला समन्वय समितिका अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अस्पतालका मेसु डा. सुप्रिया पौडेल, जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू, डब्ल्यूएचओ आइपिडीका डा. रामु शर्मा, स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।