गोकर्ण पौडेल
तुलसीपुर जेठ ७ गते । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान समयमा गौतम बुद्धको कर्मवाद उत्तिकै समय सान्दर्भिक रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को वडा कार्यालयको प्राङ्गणनमा स्थापना गरिएको भगवान् गौतम बुद्धको मूर्ति अनावरण गर्दै पोखरेलले भाग्यवादका कारण बिग्रदो समाजलाई कर्मवादमा गौतम बुद्धले डोर्याएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेलले समाजमा बढ्दो लागुपदार्थ दुर्व्यसनी समस्या निराकरणमा गौतम बुद्धका आठ उपायबाट नै समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरेलले प्राकृतिक सुन्दरताका बिच रहेको वडा कार्यालयमा गौतम बुद्धको मूर्ति अनावरणबाट शान्तिको सन्देश फैलाउन सकिने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य सुजिता शाक्यले गौतम बुद्धका विचार अनुसरण गर्दा नेपाल समाजमा बढ्दो नैराश्यतालाई हटाउन सकिने बताउनुभयो । उहाँले सभ्य समाज निर्माणमा बुद्धका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल छिल्लीकोटको फेदीमा गौतम बुद्धको मूर्ति अनावरणबाट यस क्षेत्रका पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले वडाको प्रशासनिक केन्द्रमा वडावासीलाई शान्तिको मार्गका हिड्न र हिडाउनका लागि महत्त्वपूर्ण योगदान रहने बताउनुभयो ।